सत्ता पक्षकै सांसदद्धारा सरकारको आलोचना

सत्ता पक्षकै सांसदद्धारा सरकारको आलोचना

धनगढी : प्रदेश सरकारकोे काम प्रभावकारी हुन नसकिरहेको भन्दै सबैतिरबाट आलोचना बढिररहेको बेला प्रदेश सभामा सत्ता पक्षका सांसदहरुले समेत सरकारको आलोचना गर्न थालेका छन् । 

सरकार प्रभावकारी नभएको र जनताले आफुहरु निर्वाचन क्षेत्रमा जाँदा प्रश्नहरु गरिरहेकोले सरकारले देखिने गरी काम गर्नुपर्ने उनीहरुले माग गरेका हुन् । 

केही सांसदहरुले सार्वजनिक रुपमै सरकारको आालोचना गरेको भोलीपल्ट अन्य सांसदहरुले पार्टीको संसदीय दलमा सरकारको अलोचना गरेका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सह–इञ्चार्ज लक्ष्मणदत्त जोशीको उपस्थितिमा पार्टीको प्रदेश कार्यालयमा संसदीय दलको बिहीबार बसेको बैठकमा सांसदहरुले विकास खर्च कम हुनुमा संघ भन्दा बढी आफ्नै सरकार जिम्मेवार रहेको बताएका थिए । 

अत्यन्तै गोप्य राखिएको सो बैठकमा सासंदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । सरकारका बिषयमा छलफल गर्न बोलाइएको सो बैठकमा मुख्यमन्त्री सहित कुनै पनि मन्त्रीलाई बोलाइएको थिएन । 

सांसदहरुले बजेट खर्च गर्न आवश्यक कानूनहरु तर्जुमा नहुँदा विकास र निर्माणका काम प्रभावित भइरहेकोले सरकारले छिटो काम गर्नुपर्ने बताएका थिए । 

संसदीय दलको नेताको अनुपस्थितिमा भएको छलफलमा सरकारले बिधेयक बनाउन नसकेको बिषयमा छलफल भएको र गैरसरकारी स्तरबाट आफुहरु बिधेयक ल्याउने स्थिति बन्न लागेकोले पार्टीको समेत ध्यानाकर्षण गराएको छलफलमा सहभागी एक सांसदले बताए । 

उनका अनुसार पार्टीका प्रदेश सह–इञ्चार्ज जोशीले प्रदेश सरकारले प्रभावकारी रुपमा काम सम्पन्न गर्न कानूनहरुको तर्जुमा गरी प्रदेश सभाको सचिवालयमा छिटो दर्ता गर्ने गरी काम गर्नका लागि आफुले समेत समन्वय गर्ने बताएका थिए । 

एक पटक सरकारलाई नै बिधेयक बनाउन समय दिनुपर्ने भन्दै जोशीले अहिले नै गैर सरकारी स्तरमा जान हतार नगर्न प्रदेश सासंदहरुलाई निर्देशन दिएको बुझिएको छ ।