कालंगा जलविद्युत् आयोजनाले फेरिएको बुङगलको मुहार

कालंगा जलविद्युत् आयोजनाले फेरिएको बुङगलको मुहार

बझाङ : कालंगागाड जलविद्युत् आयोजनाको निमार्ण सुरु भए पछि बुङगलको मुहार फेरिन थालेको छ । आयोजनाको निमार्ण कार्य सुरु भए सँगै यस क्षेत्रका स्थानियले गाउँमै रोजगारी पाएका छन । कुनै बेला रोजगारीका लागि ज्याला मजदुरी गर्न भारतको धार्चुला, पिथौरागढ, मुन्सारी जाने बुङगलका युवा अहिले घरमै विभिन्न व्यवसाय गरेर मनग्य कमाउँदै आएका छन् ।

कुनै बेला गाँउमा क्यारेम बोर्ड, तास, भलिवल लगायतका खेल खेलेर समय विताउने यस क्षेत्रका युवाहरु अहिले विभिन्न व्यवसाय गर्दै आएका छन । जलविद्युत् आयोजनाको काम सुरु भएपछि स्थानीय उत्पादनको माग पनि बढदै गएको छ ।

बुंगलको बिजगडा, सैन्सु दहबगर, पौटा, सट्टाय लगायतका क्षेत्रमा अहिले १५० भन्दा बढी स्थानीयले व्यावसायिक तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन, होटल, तरकारी तथा मासुपसल लगायतको व्यवसाय सुरु गरेका छन् ।

पहिला बजार नपाइने र पाए पनि सस्तोमा बेच्नुपर्ने स्थानीयस्तरमा उत्पादित वस्तुहरूले अहिले भने जस्तो मूल्य पाएको दहबगरका कलक धामीले बताए । पहिला बजार डुलाएर सस्तोमा घिउ बेच्नु पथ्र्यो अहिले आयोजनाका मान्छे घरमै आएर किन्ने र भनेको मूल्य दिने गरेको धामीले बताए । उक्त क्षेत्रमा उत्पादित दाल, घिउ, आलु तथा पशुजन्य वस्तुले बजार पाएपछि स्थानीयवासी व्यवसायी बन्न थालेका छन् ।

विद्युत्को काम सुरु भएसँगै बुंगल क्षेत्रका स्थानीयले चिया, पोल्ट्री फर्म, मासु पसल खोलेर राम्रो आम्दानी गरिरहेको र भारत जानेको संख्या घटदै गएको दहबगरकै आनन्द धामीले बताए । आयोजनामा काम गर्नेको संख्या बढेसँगै आवत जावत बढेपछि होटल तथा किराना पसल पनि बढ्दै गएको धामीले बताए ।

पहिलेको तुलनामा कालंगा जलविधुत आयोजना निमार्ण सुरु भए संगै बुङगल क्षेत्रको आर्थिक विकासमा ठुलो फडको मारेको उनको भनाई छ । वि.सं २०६५ देखि सम्भाव्यता अध्ययन थालिएको ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको छ ।

रोजगारीका लागि विदेशिने युवाले आयोजना निर्माणसँगै योग्यता र दक्षताअनुसारकोे काम पाएका छन् । हाल १५० बढी स्थानीय युवाले आयोजनाको काम गरिरहेका छन् । क्याम्प र सडक निर्माण कार्यमा ६ सय बढी स्थानीयले दैनिक ज्यालादारीमा काम गरिरहेको कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए ।

झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको चार ठाउँबाट सुरुङ निमार्ण कार्य सुरु भएको छ । दुई ठाँउमा सुरुङको ब्रेक थ्रु भई सकेको छ । सन २०२२ भित्र आयोजना सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको कालंगा जलविद्युत् आयोजनाका खगेश्वर बोहराको भनाई छ ।