सुदूरपश्चिममा सोमबार २६ जना कोरोना संक्रमित थपिए, संक्रमित ५ हजार ९२९ पुगे

सुदूरपश्चिममा सोमबार २६ जना कोरोना संक्रमित थपिए, संक्रमित ५ हजार ९२९ पुगे

धनगढी : सुदूरपश्चिम प्रदेशमा सोमबार थप २६ जनामा कोरोना पुष्टि भएको छ । यस प्रदेशका दुई वटा प्रयोगशाला सेती अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका १६ र कञ्चपुरका ३ जना र डोटी अस्पतालको प्रयोगशालामा डोटीका दुई जना र अछामका ५ जनामा संक्रमण देखिएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टमा परिक्षण भएका ६९३ नमुनाहरुमध्ये १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठले ९ महिने बालिका सहित १९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले कैलालीका ९ महिने बालिका सहित १६ जना र कञ्चनपुरका ३ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ का एक जना, बेदकोट नगरपालिकाका दुईजना, कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३ का एक जना, बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का एकजना र लम्कीचुहा नगरपालिका वडा नम्बर १० का एकजनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ का दुईजना र वडा नम्बर १ दुई जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । उता डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८३ नमुनाहरुमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीका २ जना र अछामका ५ जनामा संक्रमण देखिएको हो । उनले अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ का तीन जना, वडा नम्बर ४ का एक जना र वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै डोटीकोे आर्दश गाउँपालिकाका वडा नम्बर १ का दुई जनामा कोरोना पोजेटिभ देखिएको इन्चार्ज श्रेष्ठले जानकारी दिए । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २९ पुगेको छ।