कोरोना जितेर जनताको सेवामा चाँडै फर्कन्छु : मेयर शाक्य

कोरोना जितेर जनताको सेवामा चाँडै फर्कन्छु : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने बताएका छन्। सोमबार कोरोना संक्रमण पुष्टि भएका शाक्य अहिले होम आइसोलेनसमा छन्।

‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ मंगलबार विज्ञप्ती जारी गर्दै शाक्यले भनेका छन्, ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ। म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु।’

उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताएका छन्। ‘नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ।

संघीय राजधानी काठमाडौं उपत्यका र काठमाडौं महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भने,  ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ।’  

त्यसैगरी शाक्यले भदौ १४ गते आइतबार उनको धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको बताएका छन्।  उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको बताएका छन्।