खाद्य संकटको बेला जहाज चार्टर गरेर मदिरा ढुवानी

खाद्य संकटको बेला जहाज चार्टर गरेर मदिरा ढुवानी

बाजुराको पूर्वी उत्तरी क्षेत्रमा खाद्य संकट भएको दुई महिना भइसकेको छ। तर उक्त क्षेत्रमा मदिरा भने जहाज चार्टड गरेर ढुवानी भइरहेको छ। सरकारले कोरोनाको महामारी आएपछि मदिराजन्य तथा सुर्तीजन्य प्रदार्थको ढुवानीमा रोक लगाएपनि बाजुराको कोल्टी विमानस्थलमा भने खुल्लम खुल्ला मदिरा ढुवानी भइरहेको हो।

कोल्टी विमान स्थलमा दैनिक सात उडानसम्म हुने गरेका छन्। ती मध्ये तीन उडानमा मदिरा आउने गरेको बाजुरा नागरिक उड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए। ‘यस्तो संकटको बेला मदिरा नआउनुपर्ने हो तर नेपालगञ्ज सुर्खेतबाट जहाज चार्टड गरेर मदिरा आउने गरेको छ’ उनले भने। 

नागरिक उड्यन कार्यालय कोल्टीका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टी विमानस्थलमा भएका छन्। ६० प्रतिशत भन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यालयले जनाएको छ। १ सय ६० उडानमा ९७ हजार ३ सय ४ किलो सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यालयले जनाएको छ।

नेपालगञ्ज सुर्खेतबाट सिता, समिट र तारा ऐयरले दैनिक बाजुरामा उडान भरिरहेका छन्। ती जहाजबाट आएका मदिरा बाजुराका चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगुका स्थानीय बजारमा जाने गरेको स्थानीय बताउँछन्। आफुले जहाजबाटै मदिरा ल्याएर व्यापार गरिरहेको कोल्टी बजारका व्यापारी मंगल थापाले बताए। 

उता बुढीनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने भने खाद्य संकटका बेला यसरी मदिरा ओसारपसार हुनु गतल भएको बताउँछन्। ‘यहाँका स्थानीय बजारमा खाद्यान्न अभाव छ तर मदिरा भने फालाफाला छ’ उनले भने। यो बारे आफुले पटकपटक जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको तर अहिलेसम्म उक्त कार्य नरोकिएको उनले बताए। 

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने यसरी मदिरा नआउनुपर्ने बताएका छन्। ‘निजी एरलाइन्सले मनोमानी रुपमा फ्लाइट गर्ने भएकाले यो समस्या आएको हो’ उनले भने।  त्यो बारे बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने उनले बताए। 

उक्त क्षेत्रको कोल्टी खाद्य संस्थान र कवाडी डिपोमा चामल सकिएको दुई महिना भइसक्दा सम्मपनि चामल आउन सकेको छैन्।