बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै

बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै

बैतडीमा स्क्रब टाइफसका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार गत साउनयता मात्रै बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिएका छन् । दशरथचन्द नगरपालिकाका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै, पाटन नगरपालिकाका तीन महिला र एक पुरुष गरी चारजना, दोगडाकेदार गाउँपालिकाका चार महिला र दुई पुरुष गरी ६ जनालाई स्क्रब टाइफस देखिएको छ ।  

त्यस्तै, मेलौली नगरपालिकाका एक महिला, पञ्चेश्वर गाउँपालिकाका एक पुरुष र सिगास गाउँपालिकाका एक महिलामा स्क्रब टाइफस पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी जाँच गर्दा स्क्रब टाइफस देखिएको हो । 

गत वर्ष बैतडीमा ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको कार्यालयको भनाइ छ ।