दार्चुलामा स्क्रब टाइफसको संक्रमण बढ्दो, डेङ्गु पनि देखिदै

दार्चुलामा स्क्रब टाइफसको संक्रमण बढ्दो, डेङ्गु पनि देखिदै

दार्चुला : गते दार्चुलामा स्क्रब टाईफसका बिरामी बढ्दै गएका छन् । बुधबार सम्म ११ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। मंगलबार सम्म ११ जनामा देखिएको संक्रमण बुधबार थप ३ जनामा देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एव सिनियर अहेव डम्बर दत्त भट्टले जानकारी दिए ।

जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका ११ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको उहाले बताए । यसअघि स्क्रब देखिएका मध्ये १ जनालाई धनगढी रेफर गरिएको छ । परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेसी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुने लगायतका लक्षण देखापर्ने भट्टको भनाइ छ। रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उनले बताए।

किर्नाको टोकाइबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने सूचना अधिकारी भट्टले जानकारी दिए।

यसैबिच बुधबार मात्रै एक जना डेङ्गुका बिरामी फेला परेका छ्न । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का एक पुरुषमा डेङ्गु देखिएको अस्पतालका सूचना अधिकारी एवं सिनियर अहेव डम्बर दत्त भट्टले बताए ।

तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउन यता तीन जनामा देखिएको उहाले जानकारी दिए ।

उहाका अनुसार साउन महिनामा एक जना र भाद्र महिनामा मात्रै २ जनामा डेङ्गु देखिएको छ । विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ। गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुका बिरामी बढिरहेको उहाले बताए ।

डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने लक्ष्यण देखा पर्ने भट्टले बताए ।

डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी माटोले पुरी दिने, ट्याङ्कीको पानी एक हप्ताको समयमा फेरबदल गर्नुपर्ने उहाले बताए ।