बैतडीका दृष्टिविहीन दलित दम्पती समस्यामा

बैतडीका  दृष्टिविहीन दलित दम्पती समस्यामा

बैतडी: संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्र्षीया पार्वती लुहार दृष्टिविहीन छन्। 

दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो दम्पतिको विवाह १० वर्षअघि भएको थियो। त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो। मदनको पहिली  श्रीमतीको मृत्यु भएपछि पार्वतीलाई दोस्री श्रीमतीका रूपमा भित्र्याएका मदनले आफू पनि शारीरिकरूपमा अशक्त भएपछि आफूजस्तै जीवनसाथी खोजेको बताए। मदन आँखा नदेख्नुका साथै कान पनि सुन्दैनन्। 

पार्वती पाँच वर्षको हुँदा दृष्टिविहीन बनेका थिए। सानै उमेरमा आमा समस्या रहेको र माइतीको आर्थिक अवस्था कमजोर भएका कारण आफूले उपचार गराउन नपाएको पार्वतीले बताए। गरिबीका कारण सानै उमेरमा बिहे गरेकी पार्वतीको पीडा निकै दुःखदायी छ। पार्वती भन्छिन्, “श्रीमान् आँखा देख्नुहुन्न र कान पनि सुन्नुहुन्न, दुवैजना घरको केही काम गर्न सक्दैनौँ, हामीहरुका दुई छोरा र एक छोरी छन्।”

दश वर्षको छोरा कक्षा ५ मा र छ वर्षकी छोरी कक्षा १ मा पढ्छन्। अर्को छोरा भर्खर छ महिनाको भयो। छोराछोरीको शिक्षादीक्षा र लालनपोषणका लागिसमेत समस्या भइरहेको उनले बताइन्। अहिले छोराछोरी अलि ठूला भएकाले उनीहरुको सहारामा कामधन्दा तथा बाहिरभित्र जाने गरेको पार्वतीले बताइन्। उनले भनिन्, “अशक्त भएकाले पशुचौपाया पनि पाल्न सकेका छैनौँ, खेतबारी पनि नभएकोले जिन्दगी गुजार्न सकस भएको छ।”

पछिल्लो समयमा छोराछोरीले हिँड्नका लागि सहारा दिँदा भविष्यमा उनीहरुले खान बस्न देलान् भन्ने आस जागेको उनले बताइन्। पहिला त बाँच्न पनि निकै सकस भएकोले उतिबेलाको दुःख अहिले सम्झन नचाहेको उनले बताइन्। उनले भनिन्, “यो संसार कस्तो छ र आफ्ना छोराछोरी कस्ता छन्। एकचोटि भए पनि हेर्ने धोको पूरा नहुने पो हो की भन्ने चिन्ता छ।” 

आफूहरुलाई कसैले पनि नचिनेकाले सहयोग नगरिरहेको र गाउँलेले समेत हेला गर्ने गरेको उनले गुनासो गरिन्। कहिलेकाहीँ त आफूलाई पिटेरसमेत जाने गरेकाले कसले किन पिट्यो भन्नेसमेत थाहा नपाउने गरेको उनको भनाइ छ। आफूजस्ता अपाङ्गता भएका नागरिकका लागि सरकारले पनि केही नगरेको उनको गुनासो छ। 

अहिले मदन र पार्वती दम्पतीले वार्षिकरूपमा अपाङ्गता भत्ता पाउँदै आएको छ। उनीहरुले वार्षिकरूपमा २४ हजार रुपयाँ भत्ता पाउने गरे छन्। भत्ताको रकमले नै दैनिक छाक टार्नका जोहो गरिरहेका दम्पतीको भनाइ छ।