चाडपर्वले सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको छ : राष्ट्रपति

चाडपर्वले सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको छ : राष्ट्रपति

काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वहरूले हाम्रो विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको बताएकी छन्। नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको शुभकामना दिँदै उनले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक प्रगतिशील सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

उनले परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यासहरू एवं अव्यवहारिक पक्षहरूलाई समय सापेक्ष सुधार समेत गर्दै जानु पर्ने धारणा राखेकी छन्।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ‚‘यस्ता सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚विश्‍वास‚ सद्‍भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका संपूर्ण नेपालीहरूका बीचमा समेत परस्पर सद्‍भाव‚ सहिष्णुता‚ समझदारी र ऐक्यवद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु।’

‘जिमुतवाहन व्रत’ समेत भनिने जितीया पर्व प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरूले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ।