नेकपा एकता महाधिवेशन चैतमा

नेकपा एकता महाधिवेशन चैतमा

काठमाडौँ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने निर्णय भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) बीच दुुई वर्षअघि एकता भएपछि एकता महाधिवेशन हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी बैठकले एकता महाधिवेशनका लागि आवश्यक तयारी गर्न आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । बैठकमा महाधिवेशन आयोजना गर्न दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट
विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गरिनेछ ।