‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउन दिइएको दोस्रो साइत पनि गलत’

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउन दिइएको दोस्रो साइत पनि गलत’

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो ।
भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ ।

पाटनका चार टोलका चार खलकमध्येको प्रतिनिधित्व हुने गरी रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित साइत निकाल्ने गरिएकामा हाल डौबहालबाट पूर्णमङ्गल र नागबहालबाट कीर्तिकिरण जोशी दुई जनामात्र साइत निकाल्न सहभागी हुने गरेका छन्
भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्राउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उनले बताए ।

भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको थियो । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीको भनाइ छ ।