पेट्रोलमा मिसावट गर्ने ट्यांकर चालकलाई पहिलोपटक कारबाही गर्न सिफारिस

पेट्रोलमा मिसावट गर्ने ट्यांकर चालकलाई पहिलोपटक कारबाही गर्न सिफारिस

नेपाल आयल निगमले पेट्रोलमा मिसावट गर्ने चार ट्यांकरका चालकलाई पहिलोपटक कालोबजारी ऐनअनुसार गर्न कारबाही गर्न सिफारिस गरेको छ । निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा पेट्रोलमा हानिकारक पदार्थ मिसावट गरेको फेला परेपछि ती चारवटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन निगमले सिफारिस गरेको हो । 
यसअघि मिसावट गर्ने चालकलाई ६ महिनासम्म गाडी चलाउन निलम्बन र ट्यांकर मालिकलाई कारबाही गर्दै आएकोमा अहिले चालकलाई कालोबजारी ऐनअनुसार कारबाही गर्न सिफारिस भएको हो । सिफारिसअनुसार अब जिल्ला प्रशासन कार्यालयले ती चालकहरूलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गर्नेछ । मिसावट गर्ने चालकलाई जरिवाना र जेल सजायसमेत हुनेगरी पहिलोपटक कारवाही सिफारिस गरिएको निगमका प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए ।
निगमका अनुसार पेट्रोेलमा मिसावट गर्ने चारवटा ट्यांकरका चालकलाई कालोबजारी तथा केही अन्य सामाजिक तथा सजाय ऐनअनुसार कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । निगमका प्रवक्ता उपाध्यायले थानकोट डिपोमा मिसावट भेटिएको ट्यांकरका चालकलाई काठमाडौं जिल्ला प्रशासन तथा अमलेखगन्जमा भेटिएको मिसावट चालकलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार यसअघि मिसावट गर्ने चालकलाई ६ महिनासम्म गाडी चलाउन निलम्बन गर्दै र ट्यांकर मालिकलाई कारबाही हुँदै आएकोमा अब टयांकर चालकलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुनेछ ।
एक साताअघि पेट्रोल बोकेर बरौनीबाट आएका तीन वटा ट्यांकरको निगमको अमलेखगन्ज डिपोले गुणस्तर परिक्षण गरेको थियो । जसमा ढुवानीकर्ता बैकुण्ठ बलामी रहेकोे ना ७ ख ४०९३ ट्याकंंरको पाँच नम्बर चेम्बरमा ४ हजार लिटर पेट्रोलमा मिसावट भेटिएको थियो । ति ट्याकंरका चालक सन्तोष खड्कालाई बारा प्रहरीमा बुझाइएको छ । 
यस्तै, ढुवानीकर्ता रामचन्द्र मिश्र रहेको ना ७ ख ३९२३ नम्बरको ट्यांकरमा १२ हजार लिटर पेट्रोलमा मटीतेल जस्तो देखिने हानीकारक केमिकल मिसाएको पाइएको थियो । उक्त ट्यांकर राजेश विश्वकर्माले चलाएका थिए । उनलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्याकंर मा रहेको १२ हजार लिटर पेट्रोलमा पनि मिसावट पाइएको निगमले जानकारी दिएको छ । मिसावटमा संलग्न उक्त ट्याकंरका चालक सञ्जीवकुमार लामा अहिले फरार छन् । यस्तै, थानकोट डिपोले गरेको गुणस्तर परीक्षणमा बरौनीबाट पेट्रोल लिएर आएको ना ४ ख ७२५६ नम्बरको ट्यांकरमा मिसावट पाइएको थियो । सो ट्यांकरका चालक तथा मालिक प्रमेशकुमार श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिफारिस गरिएको निगमले जानकारी दिएको छ । -कारोबारबा