के स्वमूत्रपान स्वास्थ्यका लागि लाभदायक छ ?

के स्वमूत्रपान स्वास्थ्यका लागि लाभदायक छ ?

एजेन्सी: हिन्दूहरूले गोमूत्र (गहुँत)लाई पवित्र मानेर प्रयोग गरेको त हामीले प्रत्यक्ष देखे/भोगेकै कुरा हो । तर, मानिसकै पिसाब पिउने कुरा मात्र गर्दा पनि अधिकांशलाई घिन लाग्न सक्छ । तर, कतिपय मानिसहरू स्वमूत्रपान गर्दा स्वस्थ भइने भन्दै त्यसको प्रयोग गर्दै आइरहेकै छन् । 

भारतकी एक ३३ वर्षीया योग प्रशिक्षक केली ओकलीले पिसाब पिउनाले स्वास्थ्य राम्रो हुने दाबी गरेकी छिन् । उनले आफूले पिसाब पिउन थालेदेखि स्वास्थ्य समस्यामा कमी आएको बताउँछिन् । पिसाब पिउनाले आफूलाई थाइराइडको बिरामी र लामो दुखाइबाट छुटकारा मिलेको उनको भनाइ थियो । 

उनले एक समाचार एजेन्सीसँग भनेकी थिइन, ‘मैले आफ्नो पिसाब पिउन थालेको छु, कोही मान्छेले यसलाई राइन थेरापी मान्ने गर्दछन्, तर यसलाई युरोपोफिया भनिन्छ । उनी भन्छिन्, ‘मैले सुनेको छु कि यसले प्रतिरक्षा पुनस्र्थापना गर्दछ, राम्रो स्वास्थ्यलाई बढावा दिन्छ र छालाको लागि राम्रो गर्छ ।
    
हरेक दिन ताजा पिसाब पिउने र पिसाबले भिजेको कपडाले पुरै अनुहार सफा गर्दा छाला चमकदार हुने उनको दाबी छ । 

तौल कम गर्नका लागि मूत्रपान

त्यसैगरी क्यानडाको अलबर्टाकी ४६ वर्षीया लेह साम्पसनले पनि आफूले पिसाब पिउन सुरु गरेपश्चात् उनको तौल बिस्तारै कम हुँदै गएको दाबी गरेकी छिन् । 

लेह भन्छिन्, ‘पहिला मेरो तौल १२० केजी थियो । काम गर्न पनि असहज हुने गर्दथ्यो । मैले आफ्नो पिसाब पिउन सुरु गरेदेखि आफ्नो तौल घटेको छ ।’ उनले धेरै तौल भएको मानिसलाई पिसाब पिउन सुझाब दिन्छिन् । 

आफ्नो साथीले युरिन थेरापीको लिंक युुट्युबमा पठाएको र त्यही हेरेर आफूले आफ्नो पिसाब पिउन सुरु गरेको उनले बताएकी छिन् । त्यसपछि आफूलाई धेरै सोडिएम खाइरहेको छु भन्ने लागेपछि उनले आफ्नो अन्य खानामा सोडियमको मात्रा कम गरेको बताइन् । 

३९ वर्षीया फेथ केन्टरले पनि त्यसैसँग सम्बन्धित सार्वजानिक भिडियो हेरेपछि पिसाब पिउन सुरु गरिन् । उनी भन्छिन्, ‘म एलर्जीबाट हैरान भएको थिएँ । मेरो आँखामा समस्या तथा सुगर पनि थियो । सुरु–सुरुमा खान घिन लाग्ने गर्दथ्यो । तर, दुई–तीन दिन सेवन गरेपछि सुगर कम भयो ।’ 

कुनै एक अज्ञात महिलाको भिडियो भाइरल भयो, जसमा उनी आफ्नो घरपालुवा कुकुरको पिसाब पिउँदै गरेकी थिइन् । 

डाक्टर भन्छन्– पिसाब नपिउनुहोस् 

कतिपय मानिसहरू स्वस्थ र सुन्दर भएने लोभमा पिसाब पिउने गर्दछन् । तर, डाक्टरहरूले यसलाई स्वास्थ्यको लागि राम्रो मानेका छैनन् । 

पिसाब भनेको शरीरबाट निस्किएको विकार पदार्थ हो । डाक्टर जुबैर अहमदले बिबिसीसँग भनेका थिए– ‘पिसाब सामान्यतया जीवाणुरहित हुने गर्दछ, यदि तपार्इंको शरीरमा कुनै समस्या छैन भने । जब पिसाब शरीरबाट बाहिर आउने गर्दछ, ब्याक्टेरिया जीवाणुले प्रदुषित हुने गर्दछ । जसले गर्दा केही गभ्भीर शारीरिक जटिलता हुन सक्छन् र मानिस उल्टो बिरामीको सिकार हुन पुग्छन् । 

अर्का एक डाक्टरका अनुसार स्वस्थ मानिसको शरीरमा ९५ प्रतिशत पानी र ५ प्रतिशत अरू अवशिष्ट तत्व हुन्छन् । यी पदार्थमा पोटासियम र नाइट्रोजन हुन्छ । पिसाब पिउनाले फ्याँकिएको विकार तत्व पुनः मानिसको शरीरमा गई त्यसले शरीरलाई हानि पार्न सक्छ ।