सीमा क्षेत्रका जनताका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइन्छ : गृहमन्त्री थापा

सीमा क्षेत्रका जनताका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइन्छ : गृहमन्त्री थापा

दार्चुला : सीमा क्षेत्रका जनताका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइने गृहमन्त्री राम बहादुर थापाले बताउनु भएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै व्याँस गाउँपालिका —१ तिंकर र छाङ्गरुका जनताका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइने बताउनु भएको हो ।

शुक्रवार व्याँस गाउँपालिका १ छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको भवन शिलान्यास गरेर खलंगा फर्किएका गृहमन्त्री थापाले कालापानी क्षेत्रमा स्थायी संरचना बनाइन लागेको बताएका छन् । व्याँस क्षेत्रमा सिमा प्रशासन र अध्यागमन कार्यालय छिट्टै निर्माण गरिने गृहमन्त्री थापाले बताए ।

सिमा सुरक्षा सरकारले मात्रै गरेर नहुने भन्दै जनताको साथ अतिआवश्यक रहेको औल्याउनु भयो । सिमा क्षेत्र तथा त्यहाका जनताका लागि सरकारले विशेष प्याकेजका कार्यक्रम लिएर काम गर्ने उहाको भनाइ थियो ।

त्यहाका जनताहरुको रोजगारी, युवाहरुलाई प्रहरीमा भर्ती गर्ने, स्वरोजगार दिने खालका कार्यक्रम सरकारले ल्याउने प्रतिवद्धता जनाए । साथै कालापानी क्षेत्र रणनीतिक महत्वको क्षेत्र भएको बताउदै यसलाई व्यापारीक मार्ग र पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित गरिने बताउनु भयो ।

अर्को प्रसंगमा बोल्दै थापाले सरकार विभिन्न संकट सँग जुधिरहेको भएको छ । पछिल्लो समय कोरोनाको संकटको सामना गर्न सरकार लागिपरेको बताउदै यसबाट छिट्टै सफलतामा पुगिने विश्वास व्यक्त गरे ।

सीमा सुरक्षाका लागि स्थापना गरिएको ५० नम्बर गुल्मको भवन निर्माण एक वर्ष भित्रै निमार्ण गरि सक्ने सरकारले लक्ष्य लिएकोे बताए । कालापानी क्षेत्रमा निर्माण हुने भवनलाई बहुपक्षीय योजना अन्तर्गत निर्माण गरिनेछ ।

सिमा समस्यामा सरकार गम्भिर रहेको बताउदै यो समस्या छिट्टै सामाधान गरिने उनले बताए । बीओपी संख्या निर्धारण गरिएका सबै युनिटलाई स्थायी र व्यवस्थित संरचनामा लैजाने सरकारको रणनीति र दीर्घकालीन सोच भएको उनको भनाइ थियो ।

टोलीमा गृहमन्त्री थापासँगै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सांसद गणेश सिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत रहेका थिए ।

गत वैशाख ३१ मा सशस्त्र प्रहरीकै बीओपी स्थापना भएपछि पछिल्लो समय नेपालले आफ्नो सीमा क्षेत्रमा सुरक्षा उपस्थिति देखाउन थालेको छ । गुल्म भवनको शिलान्यासका लागि कालापानी क्षेत्र छाङ्गरु पुगेको गृहमन्त्री थापासहितको टोली एक राती त्यही बसेर फर्केको हो । छाङ्गरुमा बन्ने गुल्म भवनको १० करोडको ठेक्का सम्झौता भइसकेको छ ।

गत असार २८ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा गण स्थापना गरेर खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका–१ छाङ्गरुको गागामा सार्ने निर्णय गरेको थियो ।

छाङ्गरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ । छाङ्गरुमा स्थापना गरिएको ५० नम्बर गुल्मको नेतृत्व डीएसपी धिरेन्द्र शाहले गरेका छन् ।