सुदूरपश्चिममा यातायात व्यवसायीको मनपरी : भाडा दोब्बर, छैन सुरक्षा सतर्कता

सुदूरपश्चिममा यातायात व्यवसायीको मनपरी : भाडा दोब्बर, छैन सुरक्षा सतर्कता

धनगढी । सुदूरपश्चिम प्रदेशमा करिब ७ महिनापछि सार्वजनिक सवारी साधन सञ्चालनमा आएसँगै यात्रा गर्ने यात्रुहरुको संख्या पनि बढ्न थालेको छ । सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञापछि यात्रा गर्ने नागरिकको संख्यामा पनि बृद्धि हुन थालेको हो ।

आवतजावत गर्ने यात्रुहरुको संख्या बढ्न थालेपनि यातायात व्यवसायीले भने स्वास्थ्य मापदण्डका नियम पालना गरेका छैनन् । सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत यात्रु बोक्न र थोरै यात्रु बोक्नुपर्ने भएर ५० प्रतिशत भाडा वृद्धि गर्न अनुमति दिएको छ ।

तर, यातायातमा सिट क्षमताभन्दा धेरै यात्रु हालेर यातायात सञ्चालन गर्दा पनि ५० प्रतिशत भाडा वृद्धि गरेर नै भाडा असुलिरहेका यात्रुहरुले गुनासो गरेका छन । उनीहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमणको जोखिम मोलेरै यात्रा गर्नु पर्ने अवस्था आएको बताएका छन । भाडा पनि ५० प्रतिशत असुल्ने र यात्रुहरु पनि कोचाकोच गरेर हाल्ने गरेको आभाष उपाध्ययले बताए ।

उनले लकडाउन भन्दा अगाडी ५ सय रुपैंयामा दिपायल सम्म पुगेको बताउदैं अहिले भने २ हजार भाडा तिरेर धनगढी पुगेको बताए । उनले दोब्बर भाडा तिरेर पनि ढुक्क सँग यात्रा गर्न नपाईने गरेको दुखेसो पोखे । बसमा सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीको समेत व्यवस्था नभएको यात्रुले गुनासो गरेका छन ।

तर यता सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली का अध्यक्ष पदम सापकोटाले भने सार्वजकि यातायातामा यात्रुहरु कोचाकोच गरेर नराखेको बताउँछन । उनले भने, धनगढी बसपार्कबाट छुट्ने बसहरुमा सरकारले तोकेको नियम अनुसार यात्रु राखिएको छ । तर गौरीफन्टा सिमानाका बाट भने बढी यात्रुहरु बसहरुमा राखेको हुन सक्ने उनको भनाई छ ।

यात्रुहरुले स्वास्थ्य मापदण्डका नियमहरु यातायात व्यवसायीले पालना नगरेको बताए पनि अध्यक्ष सापकोटाले भने स्वास्थ्य मापदण्डका सबै नियमहरु पालना गरेर यातायात सञ्चालन गरिरहेको बताए । यदि कसै सार्वजनिक यातायात चालक र बस धनीहरुले यात्रुहरु बढि राखेको र स्वास्थ्य मापदण्डका नियम पालना नगरेको भेटिए आफुले कार्वाही गर्ने अध्यक्ष सापकोटाले बताए ।

यसैगरी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सरकारले जारी गरेको नियमको पालना गर्न सबै यातायात व्यवसायीलाई आग्रह गर्दै आएको छ । नेपाल सरकारबाट लागु भएको सुरक्षा मापदण्ड अनुसार कडाईका साथ लागु गर्न आफु मातहत ट्राफिक प्रहरी कार्यालयलाई समेत निर्देशन दिएको छ ।

तोकिएको मापदण्ड भन्दा बढी यात्रु बोक्ने सवारीलाई बढि भएको यात्रु झार्न लगाई, भाडा फिर्ता गराई तोकिएको मापदण्ड बिपरीत संचालन भएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई एक पटकका लागि सम्झाई बुझाई गर्दै आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।