अछामको दुर्गम गाउँमा पहिलोपटक नागरिकता शिविर

अछामको दुर्गम गाउँमा पहिलोपटक नागरिकता शिविर

अछामको ढकारी गाउँपालिका ५ की धौली कामीले गाउँमै घुम्ति शिविर पुगेपछि एकैसाथ परिवारका ६ सदस्यको नागरिकता बनाइन् । 

तीन छोरा, दुई बुहारी र आफुले समेत नागरिकता पाउदा उनी दंग थिइन् । ‘नागरिकता बनाउने धोको आज पुरा भयो,’ उनले भनिन्, ‘बाटो खर्च नहुदा सदरमुकाम जाने अवस्था थिएन । गाउँमै शिविर आएपछि बल्ल नागरिकता पायौं ।’

शिविरमा भेटिएका भिउले कसेरा, पवित्रा बिक, प्रजाबहादुर बुढा र मोति साउँदले पनि सदरमुकामदेखि टाढा रहेकै कारण आफुहरुले समयमै नागरिकता बनाउन नपाएको बताए । ‘एकपटक सदरमुकाम जान कम्तिमा पाँच हजार रुपैया खर्च हुन्छ,’ साउँदले भने, ‘त्यति खर्च गर्ने हाम्रो क्षमता छैन । शिविर नगरे त हामी अझैँ नागरिकता विहीन नै हुने थियौं ।’ 

‘यहाँ सरकारी उपस्थीति खासै देखिदैन्,’ गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले, ‘यसरी योजनाका साथ सेवा दिएको यो पहिलो पल्ट हो । अब दुर्गमलाई पनि सरकारको आभास दिलाउनुपर्छ ।’ मजदूरी गर्न भारत जाने गाउँका अधिकांश पुरुष अहिले पनि नागरिकता पाउनबाट बञ्चित रहेको उनले बताए ।

नागरिकता नहुँदा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित हुनुपरेको ज्ञानमन्दिरकी मोतिकला साउँदले बताइन् । ‘नागरिकता नहुदा तीन वर्ष भत्ता खान पाइन्,’ उनले भनिन, ‘मेरो जस्तो समस्या अरुको पनि थियो । अब गाउँमै नागरिकता पाएपछि त भत्ता पनि पाइन्छ होला ।’

जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा ढकारी गाउँपालिकाले आयोजना गरेको शिविरमा यहाँका लामबाटा, ड्वाटागडा, भिमड, धौला, तिखान, लेख र बलाताका एक सय ४३ महिला र ६४ पुरुषले नागरिकता बनाएको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले बताए । याे समाचार नया पत्रिका बाट लिइएकाे हाे ।