भीमदत्तमा भत्ता वितरणका लागि चार बैंकलाई जिम्मेवारी

भीमदत्तमा भत्ता वितरणका लागि चार बैंकलाई जिम्मेवारी

महेन्द्रनगर : भीमदत्त नगरपालिकामा चार बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् । ती बैंकले नगरपालिकाका छुट्टाछुट्टै वडामा भत्ता वितरणको जिम्मेवारी लिएका छन् ।

स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण सुरु गरेको थियो । भीनपा वडा नं ६ बाट भत्ता वितरण सुरु गरिएको हो ।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने प्रतिवद्धता गरेका थिए । चुनावी प्रतिवद्धता अनुसार वडा कार्यालयबाट भत्ता वितरण सुरु गरिएको हो ।

त्यस अघि बैंकहरुले आफ्नो कार्यालयबाट भत्ता वितरण गर्दै आएका थिए । बैंक कार्यालयमा भत्ता लिन आउँदा वृद्धवृद्धा सबैभन्दा बढी मारमा परेका थिए । गत वर्ष वडा नं ६ को वडा कार्यालयबाट भत्ता वितरण सुरु गर्दै नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनमा गरिएका सबै वाचा पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

नगर प्रमुख विष्टले भीनपाका वडाबाट सामािजक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए । भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चनपछि कुमारी बैंकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ । 

कञ्चन बैंकले वडा नं। २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ । यसैगरी वडा नं। ५,११, १२, १३, १४ नम्बरमा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दैै आएको छ । वडा नं। १ र ४ प्रभु बैंक तथा वडा नं। १८ मा एनससीसि बैंकले भत्ता वितरणको जिम्मेवारी लिएको छ ।

चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा १८ करोड बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, दलित नागरिक दलित, दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका बालबालिका, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ ।

भीमदत्त नगरपालिकामा सामाजिक सुरक्षा तथा पञ्जीकरण उप शाखाले सामाजिक सुरक्षा सम्बन्धी कार्य गर्दै आएको छ । भीमदत्तमा १० हजार बढी वासिन्दाले सामाजिक सुरक्षा भत्ता पाउँदै गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामीले नगरपालिकाका सबै वडामा वडा कार्यालयबाट भत्ता वितरण गरिएको बताए । याे समाचार बाह्रखरी बाट लिएकाे हाे ।