विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

विराटनगर : विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्धाको शनिबार बिहान मृत्यु भएको छ। विराटनगर महानगरपालिका–३ की ६८ वर्षीया वृद्धको बिहान २ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज ११ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएकै दिन कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि वृद्धालाई बचाउन नसकिएको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए।

उनका अनुसार ती महिलालाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो। मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले बताए।