अस्ट्रेलियन कम्पनीद्वारा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउने इच्छा

अस्ट्रेलियन कम्पनीद्वारा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउने इच्छा

अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ ।
फोर्टेस्क्यूले ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालयमा प्रस्ताव पेस गरेर ५ सय मेगावाट बराबरको आयोजना निर्माण गर्ने इच्छा देखाएको हो । त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच जुममा भर्चुअल बैठकसमेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि ऊर्जामन्त्री वर्षमान पुनलाई मन्त्रालय भेट्न नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बड पुगेका थिए । सो क्रममा मन्त्री पुनले प्रस्तावप्रति सरकार सकारात्मक रहेको बताए । अस्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पारे ।
कम्पनीका अध्यक्ष एन्ड्रिउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे । तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो । “नेपालको जलविद्युत्मा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ,” मन्त्री पुनले भने, “उहाँहरू आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।”
अस्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले धन्यवाद दिए । सो क्रममा राजदूत बडले अस्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अस्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत्सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताए ।