बलरहरुको उत्कृष्ट प्रदर्शनपछि प्रदेश ७ को दोस्रो जित

बलरहरुको उत्कृष्ट प्रदर्शनपछि प्रदेश ७ को दोस्रो जित

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा प्रदेश ७ ले दोस्रो जित हात पारेको छ। 

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपालयको व्यवस्थापनमा कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई  २ विकेटले हरायो । प्रदेश ३ ले दिएको ११७ रनको कमजोर लक्ष्य पछ्याएको प्रदेश ७ ले लक्ष्य भेट्टाउन ठूलै संघर्ष गर्नुपरेको थियो । प्रदेश ७ ले ३९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

प्रदेश ७ का लागि सन्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन जोडे । प्रदेश ३ का जितेन्द्र ठकुरी र सागर ढकालले २–२ बिकेट लिए । किशोर महतो, प्रतिश जीसी र सन्जय बस्नेतले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश ३, ३३.३ ओभरमा ११६ रनमा अलआउट भयो । उसका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ४० रन बनाए भने सोनु तामाङले २९ र सञ्जय बस्नेतले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् ।

प्रदेश ३ लाई सस्तैमा समेट्नका लागि प्रदेश ७ का शेर मल्लले ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याचसमेत बने । बलरहरु चम्किएको खेलमा विकास आग्रीले ३ विकेट लिए भने विनोद लामाले १० ओभरमा पाँच मेडन राख्दै १ विकेट लिएर उत्कृष्ट बलिङको नमूना प्रस्तुत गरे ।