नियमित उडानको लागी सुदूरका ३ विमानस्थलमा प्राविधिक जनशक्ति खटाईयो

नियमित उडानको लागी सुदूरका ३ विमानस्थलमा प्राविधिक जनशक्ति खटाईयो

धनगढीः नेपाल नागरिक उड्यन प्राधिकरणले सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ। लामो समयदेखि बन्द रहेका बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको हो।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले तनिवटै विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको जानकारी दिए। टावर र अन्य उपकरण जडान नभएको अवस्था भएकाले प्राधिकरणले तत्कालका लागि भिएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको हो।

गत असोज १७ गते परीक्षण उडानको गरिएका तीनवटै विमानस्थलमा समिट एयरले नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ। समिट एयरले धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्नेछ।

समिटले अहिले धनगढी–बाजुरा चार्टड उडान गरिरहेको छ। समिट एयर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले मंगलबार धनगढी–बझाङ उडान हुने जानकारी दिए। उनले बैतडी र डोटीमा समेत चार्टड उडान भर्ने तयारी रहेपनि तत्काल यात्रु नभएकाले अहिले नै टुङ्गो नलागेको बताए। यात्रुहरुको चापलाई हेरेर मा    त्र नियमित उडानको विषयमा टुङ्गो लाग्ने समिट एयरले जनाएको छ।

धनगढीबाट बझाङको भाडा पाँच हजार ४८ रुपैँया कायम गरिएको छ भने धनगढी–बैतडीको भाडा तीन हजार आठ सय दुई रुपैँया तोकिएको छ। डोटीको भाडादर भने कायम भईनसकेको समिट एयरका प्रतिनिधि मल्लले बताए। गत असोज १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले तीन वटै विमानस्थलको परीक्षण उडानको उदघाटन गरेका थिए।