बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा

बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा

बैतडी : बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ। सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्यअनुसार बैतडीमा पनि बैंकिङ सुविधा पुर्‍याइएको हो।

जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक र मेलौलीमा एनसिसि बैंकका शाखा स्थापना भइसकेका छन्।

शिवनाथ गाउँपालिकामा केही दिन अगाडि मात्रै नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको भए पनि खाता खोल्ने काम मात्रै भइरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिए।

खाता खोल्न बाहेकका अन्य सेवा सुविधा केही दिनभित्रै सञ्चालनमा आउने भएको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखाहरू रहेका छन् भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखाहरू छन्।

सरकारले विस २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि बैतडीका सबै स्थानीय तहमा भने १ वर्षपछि पुगेका हुन्।

बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।