कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने

कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने

दार्चुला :  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रूपमा अगाडि बढाउने भएको छ । 

सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र पुरोहितसँग अन्तरक्रिया थालनी गरेको हो ।

लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामीझाँक्री र पुरोहितको सहभागितामा अन्तरक्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

हरेक जिल्लाका धामी, झाँक्री, पुरोहितलाई लैङ्गिक हिंसा, छाउपडीलगायतका विसङ्गति र कुरीतिविरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराइ उनीहरूलाई नै अभियानकर्मीका रूपमा अगाडि बढाइने उक्त मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिनुभयो ।

सदरमुकाम खलङ्गामा शुरु भएको अन्तरक्रियामा जिल्ला नौवटै गाउँपालिका, नगरपालिकाका धामीझाँक्री र पुरोहित सहभागी थिए । 

सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले कार्यक्रम शुभारम्भ गर्दै बिरामीलाई झारफुकमै अलमल्याउनुभन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।