निर्मला हत्या प्रकरण : आयोगले खटायो प्राविधिक विज्ञ टोली

निर्मला हत्या प्रकरण : आयोगले खटायो प्राविधिक विज्ञ टोली

महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको सूक्ष्म अनुसन्धान गरिरहेको मानवअधिकार आयोगले प्राविधिकसहितको विज्ञ टोली गठन गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेशका निर्देशक झंकर रावलले विज्ञ टोलीले कञ्चनपुर पुगेर प्रहरीले गरिरहेको अनुसन्धान र अन्य प्राविधिक विषयमा जानकारी लिएको बताए।

‘यो अपराध अनुसन्धान गर्ने टोली भने होइन’, उनले भने, ‘आयोगले मानवअधिकारका दृष्टिबाट गर्नुपर्ने अनुसन्धानको पाटोमा हेर्ने प्राविधिक विज्ञ सहितको टोली गठन गरेर पठाएको हो।’ तथ्य केलाउने, प्रहरीले अनुसन्धानका लागि तयार पारेका प्रमाणलगायत के–कसरी गरिएको रहेछ रु त्योसमेत हेर्ने काम प्राविधिक विज्ञ टोलीले गरेको छ।

टोलीका संयोजक पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठकले टोलीले घटनास्थल पुगेर आवश्यक अध्ययन र परामर्श गरेको बताए। ‘हामीले जिल्लामा पुगेर मानवअधिकारको दृष्टिबाट काम भए÷नभएको हेरेका छौं’, उनले भने, ‘अहिले निर्मला पन्तको बलात्कार र हत्याको घटना र भविष्यमा कुनै घटना भए त्यसमा अपनाउनुपर्ने सजकताका लागि समेत ध्यान दिन खोजिएको हो।’

टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मलाको शव भेटिएको घटनास्थल, पीडित परिवार, सरोकारवाला निकायलगायतसँग समेत भेट गरेर आवश्यक अध्ययन गरेको छ। ‘अहिलेको अनुसन्धान प्रहरीले कसरी गरिरहेको छ, मानवअधिकारको दृष्टिकोणबाट त्यो पनि हेरिएको छ’, संयोजक पाठकले भने, ‘घटनास्थलको प्राविधिक पाटो र अनुसन्धानका अन्य पाटोसमेत प्राविधिक तवरले अध्ययन गरिन्छ।’

टोली सदस्यसमेत रहेका शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा। हरिहर अवस्थीले पोस्टमार्टम, भजाइनल स्वाब संकलन गर्दा के–कसरी गरिएको थियो भन्नेबारे समेत टोलीले हेरेको बताए। उनका अनुसार पोस्टमार्टम गर्ने महाकाली अञ्चल अस्पतालका चिकित्सकसँग समेत छलफल गरिएको छ।

छलफलमा सरोकारवालाले भजाइनल स्वाबको आधिकारिकताबारे प्रस्ट हुनुपर्ने धारणा व्यक्त गरेका थिए। अधिकारकर्मी प्रितिधिर भण्डारीले प्रहरीले कसलाई जोगाउन प्रमाण नष्ट गर्नेलगायत काम गर्यो त्यसतर्फ केन्द्रित भएर अनुसन्धान हुनुपर्ने बताइन्।

राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ अनुसार विशेष घटनाक्रमको अनुसन्धानका लागि आयोगले विज्ञसहितको टोली गठन गर्ने प्रावधान छ। टोलीको अन्य सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झा र आयोगकै कल्पना झा छन्।

छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ । याे समाचार अन्नपुर्ण बाट लिएकाे हाे ।