काठमाडौं : महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जिल्ला कारागार, कैलालीबाट फरार एक जनालाई पक्राउ गरेको छ ।मानव बेचबिखनसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गर्दै गर्दा फरार भएका धनगढी–६, जालीका ३५ वर्षीय सुरज कोलीलाई पक्राउ गरिएको हो ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार अदालतबाट १२ वर्ष कैद सजाय तोकिएका उनी ९ वर्ष ३ महिना कैद सजाय भुक्तान गरेर २० असोज ०७३ मा फरार भएका थिए ।
उनी काठमाडौंको सीतापाइलामा बसिरहेको सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले उनलाई पक्राउ गरेको सिंहले बताए । उनका अनुसार पक्राउ परेका कोलीलाई कैलाली कारागार पठाउने तयारी भइरहेको छ ।