६ लेन सडक निर्माणमा अवरोध

६ लेन सडक निर्माणमा अवरोध

कञ्चनपुर : महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बन्न लागेको ६ लेनको सडक निर्माणमा स्थानीयवासीले अवरोध गरेका छन् ।

भीमदत्त नगरपालिका–१२ ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण भइरहेको सडकको ग्राभेल र माटो भरान गर्न भीमदत्त नगरपालिका–११ भुजेलाका बासिन्दाले बाधा पु¥याएका हुन् । घरको मुआब्जा रकम कम भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि सडक निर्माण गर्न दिएका छैनन् ।

निर्माण कम्पनी कुमार सिएसइसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले सडकमा ग्राभेल र माटो भरान गर्न नसकिएको बताए ।  अधिकांश जग्गाधनीले जग्गाको मुआब्जा लिइसकेका छन् । केहीले मात्र रकम कम भयो भन्दै काममा अवरोध गरेको इञ्जिनीयर पाण्डेयले बताए ।

भुजेलादेखि गड्डाचौकीसम्मको क्षेत्रमा काममा अवरोध भएको छ । निर्माण कम्पनीले महाकाली पुलसँगै पहुँचमार्ग अन्र्तगत महाकाली नदीपारीको भू–भाग दोधारा–चादँनीतर्फ समेत सडक खन्ने कामलाई तीव्र पारेको छ ।

भीमदत्त नगरपालिकातर्फ ६ किलोमिटर तथा दोधारा–चादँनीतर्फ डेढ किलोमिटर सडक निर्माण गरिँदैछ । भुजेलास्थित शिव टोलका प्रकाश थापाले जग्गाको मुआब्जा सही दिएको र घरको मुआब्जा कम भएका कारण रकम बढाउन माग गरिएको बताए ।

३० घर रहेको शिव टोलका बासिन्दालाई महाकाली पुल योजना कार्यालयले प्रतिघर रु १५ लाख २३ हजारदेखि रु १९ लाख २३ हजारसम्म मुआब्जा निर्धारण गरेको छ ।