हत्या स्वीकार गरेको भनिएका मध्ये विशाल चौधरी छुटे, कुटपिट गर्ने डरले हत्या स्वीकार गरेको खुलासा

हत्या स्वीकार गरेको भनिएका मध्ये विशाल चौधरी छुटे, कुटपिट गर्ने डरले हत्या स्वीकार गरेको खुलासा

धनगढी :निर्मला हत्या प्रकरण फेरि जटिल मोडमा पुगेको छ । प्रहरीले हत्यारा प्रक्राउ गरिसकेको र अनुसन्धान अन्तिम चरणमा रहेको बताईरहेका बेला हत्या स्वीकार गरेको भनिएका मध्ये विशाल चौधरी छुटेपछि निर्मला हत्या प्रकरण जटिल मोडमा पुगेको हो । 

अनुसन्धानका लागि भन्दै १८ दिनअघि मंसिर १९ गते पक्राउ गरिएका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई रिहा भएका छन र उनलाई प्रहरीले शनिवार आफन्तको जिम्मा लगाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले प्रहरी कार्यालयको रोहबरमा बालबालिका खोजतलास केन्द्रले विशाललाई परिवारको जिम्मा लगाएको जानकारी दिएका छन । 

चौधरीलाई हिरासतमै रहेका भीमदत्त नगरपालिका १८ भगतपुरकै प्रदिप रावलको बयानपछि महेन्द्रनगरमा पक्राउ गरि अनुसन्धानका लागि काठमाण्डौ पठाईएको थियो । 

उनीहरु दुवै जनाको डीएनए समेत परिक्षण गरिएको थियो । तर, अझै सार्वजनिक गरिएको छैन । 

शनिवार जिल्ला प्रहरी कार्यालयमा छुटेदै गर्दा विशालले भनेका छन, ‘कुटपिट गर्ने डरले हत्या गरेको हु भनेर प्रहरीलाई बताए ।’उनले शारिरीक र मानसिक यातना पनि दिईएको बताएका छन । 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पक्राउ पर्न सकेको छैन ।

हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ ।