नाइजेरियामा भइरहेको प्रदर्शनमा ५१ प्रदर्शनकारी र १८ सुरक्षाकर्मीको मृत्यु

नाइजेरियामा भइरहेको प्रदर्शनमा ५१ प्रदर्शनकारी र १८ सुरक्षाकर्मीको मृत्यु

अबुजा : नाइजेरियामा पछिल्लो समय भइरहेको प्रदर्शनमा हालसम्म ५१ नागरिक र १८ सुरक्षाकर्मीको ज्यान गएको छ। शुक्रबार राष्ट्रपति मोहम्मद बुहारीले एक भनाई जारी गर्दै सुरक्षाकर्मीले ‘अत्यन्तै संयमता’ अपानाए पनि प्रदर्शनमा ६९ मानिसको मृत्यु भएको जानकारी दिएका हुन्।

राष्ट्रपति बुहारीले प्रदर्शनलाई रोक्ने क्रममा ११ प्रहरी र ७ सैनिक जवान मारिएको बताएका छन्। त्यस्तै ३७ नागरिक घाइते भएका छन्।

नाइजेरियामा अहिले ‘प्रहरी दमन’को अन्त्य माग गर्दै हरेक दिन प्रदर्शन हुँदै आइरहेको छ। सो प्रदर्शनलाई राष्ट्रपति बुहारीले ‘गुण्डागर्दी’को संज्ञा दिएका छन्। तर प्रदर्शनकारीले भने शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरेको आरोप लगाइरहेका छन्।

राष्ट्रपतिको भनाईले नाइजेरियामा अझ दंगा भड्किने विश्लेषकहरूले बताएका छन्। एमनेस्टीका अनुसार मंगलबार मात्र सुरक्षाकर्मीले १२ प्रदर्शनकारीलाई भीडमा गोली हानी हत्या गरेको थियो। भीडमा राष्ट्रिय गीत बज्दै गर्दा सुरक्षाकर्मीले गोली चलाएको थियो।

राष्ट्रपति बुहारीले सुरुवाती प्रदर्शनमा पछिल्लो समय घुसपैठ भएको समेत बताएका छन्। उनले बिहीबार भने यसबारे केही बोलेका थिएनन्। बिहीबार उनले प्रदर्शनकारीलाई ‘विध्वंशकारी तत्व’ भनेका थिए। त्यस्तै उनले प्रदर्शनकारीलाई राज्यको सुरक्षा र कानुनी व्यवस्थालाई कमजोर नआँक्न चेतावनी दिएका थिए।