सिने क्षेत्रलाई चलायमान बनाउन अझै समय लाग्ने

सिने क्षेत्रलाई चलायमान बनाउन अझै समय लाग्ने

सिनेमा हल खोलिहाले पनि दर्शक हलसम्म आउने पक्का छैन, यसका बाबजुद हल सञ्चालकहरु यो क्षेत्रलाई चलायमान बनाउन सिनेमा हल सञ्चालनमा ल्याउन तयार छन्। तर, सरकार सत्ता बचाउने खेलमा व्यस्त भएकाले हल सञ्चालनको निर्णय हुन सकेको छैन।

सार्वजनिक सवारी, होटल रेस्टुराँ, जिम हल, सैलुन, पार्लर जस्ता सबैजसो क्षेत्र र सबै प्रकारको बजार खुले पनि सरकारको बेवास्ताका कारण दशैंजस्तो महत्वपूर्ण चाडमा खुल्न नसकेका सिनेमा हल तिहारमा पनि नखुल्ने निश्चित भएको छ।

सिनेमा हलजस्तै भीडभाड विभिन्न निकुञ्ज र मनोरञ्जन पार्क आगामी मंसिर १ गतेदेखि सञ्चालनमा आउने भइसकेका छन्, तर सरकारी बेवास्ताका कारण तिहार र छठ जस्ता पर्वमा समेत सिनेमा हल सञ्चालनमा नआउने भएको हो। सिनेमा हल सञ्चालनमा ल्याउन दबाब दिन सिंहदरबारमा पुग्ने गरेका फिल्म व्यवसायीहरु राजनीतिक खिचातानीका कारण व्यस्त हुन पुगेका मन्त्रीलाई भेट्न नसकेर हैरान छन्। सम्बन्धित मन्त्रालयका अधिकारीहरु कोही पीसीआर परीक्षण र कोही कोरोना संक्रमणका कारण आइसोलेनमा बसिरहेको जवाफ सुनेर खाली हात फर्कन बाध्य छन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली हल सञ्चालनमा ल्याउन दिन सहमत भइसकेका छन्। मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हल सञ्चालनमा ल्याउन सकिन्छ। तर, मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लाने सरकारका मुख्य सचिव कोरोना संक्रमणका कारण आइसुलेसनमा बसेकाले हल सञ्चालनसम्बन्धी प्रस्ताव फाइल हुन सकेको छैन।

हल सञ्चालकहरुले ७ महिनादेखि बन्द हल पुनः सञ्चालनमा ल्याउन कम्तीमा २ साता लाग्ने बताउँदै आएका छन्। यस हिसाबले तुरुन्तै यससम्बन्धी निर्णय भए पनि यो तिहार र छठका लागि भने हल सञ्चालनमा आउन सक्ने अवस्था छैन। प्रदर्शक र वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले तिहार र छठमा हल सञ्चालनमा नआउने बताए। ‘हाम्रो व्यापारको प्रकृति अन्य व्यापारको भन्दा फरक छ।

हामीले न्युरोडको पसल जसरी सटर खोलेकै भरमा हल खोल्न सम्भव छैन। हाम्रो व्यापार भनेको भीडभाडको व्यापार हो। भीडभाड भएमात्र हाम्रो व्यापार सफल हुन्छ। तर, अहिले जति धेरै भीडभाड उति धेरै जोखिम बढ्ने अवस्था छ’, प्रधान भन्छन्– ‘यो अवस्था हामी आफैंले पनि बुभ्नुपर्छ। त्यसैले स्वास्थ्य मापदण्ड बनाएर त्यसको पालना गर्ने गरी हल सञ्चालन गर्न हामीले सरकारसमक्ष पटक–पटक प्रस्ताव पेस गरेका छौं। तर, हालसम्म अनुमति दिइएको छैन। अब यसबारे निर्णय भइहाले पनि तिहार र छठका लागि हल सञ्चालन गर्न सम्भव छैन।’ उनले भने ।