विद्युत् महसुल काउण्टर नहुँदा सास्ती

विद्युत् महसुल काउण्टर नहुँदा सास्ती

बैतडी : सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । 

जिल्लाका विभिन्न स्थानका नागरिकले ८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । महसुल तिर्नका लागि सदरमुकाम र पाटनमा मात्रै व्यवस्था भएकाले महसुल तिर्नका लागि निकै झण्झट हुने गरेको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका हरिशनाथले बताउनुभयो । 

बैतडी सदरमुकामसम्म आवतजावत गर्न, खाना खर्चसहित ८० रुपैयाँ बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने नाथले बताउनुभयो । जिल्लाको डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिका–१० सुर्नया गाउँपालिकाका विभिन्न स्थानका नागरिकहरुले विद्युत बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

विद्युत् महसुल काउण्टर नजिक नभएकाले सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दिपेन्द्रबहादुर बिष्टको गुनासो रहेको छ । विद्युत् महसुल सङ्कलनका लागि स्थानीयस्तरमै काउण्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । 

महसुल काउण्टर स्थापनाका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै स्थापना गर्ने बताइएको छ । दुर्गम ठाउँका सेवाग्राहीका लागि तीन महीनाको एकैचोटी रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल सङ्कलन गर्ने गरिएको छ उहाँले उहाँले भन्नुभयो,“सुरक्षा, भौगोलिक विकटता र कर्मचारीको अभावमा तत्कालै महसुल काउन्टर स्थापना हुने सम्भावना न्यून छ ।” महसुल तिर्नका लागि झण्झट भएको उपभोक्ताको गुनासो आए पनि जिल्लास्तरबाट कुनै पहल गर्न सकिएको छैन् ।