मोहन्याल गाउँपालिकाका आर्थिक अनियमितता भएको उपाध्यक्षको आरोप

मोहन्याल गाउँपालिकाका आर्थिक अनियमितता भएको उपाध्यक्षको आरोप

धनगढी : मोहन्याल गाउँपालिकाका उपाध्यक्ष पूजादेवी बुढामगरले गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन । उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा र तीन जना वडा अध्यक्षहरुको मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाईन् । 

गाउँपालिकाको कार्यालयबाट झण्डै ७५ किलोमिटर टाढा जिलाको सदरमुकाम आएर आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष बुढामगर र कार्यपालिकाका सदस्य बिशाल पहराइले आर्थिक अनियमितता भइरहेको दावी गर्दै प्रमुख प्रशासकीय अधिकृत र तीन जना वडा अध्यक्षले मिलेमतोमा अनियमितता गरको आरोप लगाए । 

गाउँपालिकाका योजनाहरु अनुगमन गर्नका लागि छुट्ट्याइएको ३५ लाख रुपैया एक पटक मात्र सडक आयोजनाको अनुगमन गरी सकिएको उपाध्यक्ष बुढामगर र कार्यपालिका सदस्य पहराईको जिकिर छ । 

बाटोको मात्रै अनुगमन भएको र अन्य योजनाको अनुगमन नै नगरी खर्च भएको देखाइएको बताउँदै उपाध्यक्ष बुढामगरले आफु अनुगमन समितिको संयोजक भएकोले आफुलाई एक पटक भन्दा बढी र एक सडकको भन्दा धेरै योजनाको अनुगमन भएको जानकारी नभएको बताए। 
त्यस्तै कार्यपालिका सदस्य पहराईले बजेटको खर्चबारे सार्वजनिक सुनुवाई गर्न माग गर्दा प्रमुख प्रशासकीय अधिकृत ओझाले कानूनमा त्यो ब्यवस्था नभएकोले जरुरी नभएको जवाफ दिँदै अटेर गरेको आरोप लगाए। 

गाउँ कार्यपालिका र गाउँ सभाको निर्णय पश्चात पनि गाउँपालिकाको कार्यालय खिमडीमा स्थापना नभएको उपाध्यक्ष बुढामगरले बताए ।उनले अहिले पनि कार्यालय धनगढी तारानगरको एक कोठामा रहेको बताए ।

कार्यालय सार्न पटक पटक भन्दा समेत बिभिन्न बाहाना बनाएर प्रमुख प्रशासकीय अधिकृत ओझाले सार्न अटेर गरिरहेको उनको आरोप छ ।कार्यालय सार्न नमानेको र आर्थिक अनियमितता भएको बिषयमा कुरा गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले आफुमाथि लगाइएका आरोपहरु निराधार भएको बताए । 

उनले उपाध्यक्ष बुढामगरकै नेतृत्वमा ३० वटा आयोजनाको अनुगमन गरिएको र सो अनुगमन पुस्तिकामा उपाध्यक्ष समेतको हस्ताक्षर रहेको बताएका छन । कार्यालय धनगढीमै रहेको भन्नेमा आशिक सत्यता रहेको भन्दै ओझाले लेखाको कामको प्रयोजनका लागि मात्रै एक कोठा धनगढीमा लिइएको जिकिर गरे ।