प्रहरी जवान र हवल्दारहरुको गुनासोः भन्छन्, 'हाकिमले सार्वजनिक रुपमा गाली नगरुन् !'

प्रहरी जवान र हवल्दारहरुको गुनासोः भन्छन्, 'हाकिमले सार्वजनिक रुपमा गाली नगरुन् !'

काठमाडौं । प्रहरीमा बढुवा वृत्ति विकासको गति सुस्त रहेको गुनासो आएको छ । प्रहरी जवान र हवल्दारहरुले यस्तो गुनासो गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।

सर्वेक्षणमा ८३ प्रतिशत प्रहरी जवानहरु ११ देखि १५ वर्षमा हवल्दारमा बढुवा भएको उल्लेख छ । सर्वेक्षणमा सहभागीहरुले प्रहरी नियमावलीबमोजिम समयमा बढुवा, बढुवा प्रक्रियालाई पारदर्शी बनाई हाल पदोन्‍नति हुन १४ वर्ष लाग्‍ने गरेकामा यसलाई सुधार गर्नुपर्ने र घटुवा भएकामा निश्चित समयपश्चात् स्वतः बढुवा हुनुपर्ने र निष्पक्ष रुपले बढुवा हुनुपर्ने सुझाव दिएका छन् ।

सर्वेक्षणमा भनिएको छ,“सरुवा प्रक्रिया भनसुनका आधारमा नभई निष्पक्षता कायम गरी हुनुपर्ने, सरुवा मापदण्ड लागु गरिनुपर्ने, श्रीमान्-श्रीमती प्रहरी संगठनमा रहेकालाई एकै स्थानमा सरुवा, प्रहरी हवल्दार र प्रहरी जवानसम्मको दर्जालाई आफ्नो प्रदेशभित्र, जिल्ला वा छिमेकी जिल्लामा सरुवा जाने व्यवस्था, घरपायक सरुवाको व्यवस्था, घरपायक सरुवा गर्दा असर पर्ने देखिन्छ ।”

सजाय र पुरस्कार सर्वेक्षणमा सहभागीहरुमध्ये ४३ प्रतिशत पुरस्कृत भएको र १५ प्रतिशतले विभागीय सजाय पाएको देखियो । प्रहरी ऐन/नियमावलीअनुसार सजाय र पुरस्कारको व्यवस्थामा कडाइ गरिनुपर्ने भए पनि कर्मचारीले गल्ती गरे सार्वजनिक रुपमा गाली-गलौज नगरी कार्यालयमा ल्याई आवश्यक कारबाही गर्न उनीहरुले सुझाव दिएका छन् ।

यस्तै सरुवामा सुगम दुर्गम मिलाएर सरुवा गर्नुपर्ने, महिलालाई सरुवा गर्दा समस्या रहेकामा बालबच्चाको शिक्षाका लागि शैक्षिक सत्र हेरेर मात्र सरुवा गरे राम्रो हुने र श्रीमान्-श्रीमतीको हकमा विभागले एकै कार्यालयमा आवासको व्यवस्था मिलाए राम्रो हुने माग पनि तल्लो तहका प्रहरीले गरेका छन् ।  

काज काज सरुवा गर्दा समयमा वास्तविक समस्या बुझेर मात्र गर्ने, घरपायक दरबन्दी नभए पनि घरपायक काजको व्यवस्था भए राम्रो हुने तल्लो तहका प्रहरीको माग छ । प्रहरीमा समय नपुग्दै राजीनामा दिने क्रम बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले एक अध्ययन गरेको थियो । सो अध्ययननमा उनीहरु कि जागिर छाड्नछन् लगायतका पक्षबारे समेटिएको छ । अध्ययनका आधारमा उनीहरुको वृत्ति विकासका थप कदम चाल्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । -बाह्रखरीबाट