मौसममा आएको परिवर्तनसंगै जिल्ला अस्पातल बैतडीमा बिरामीको संख्या बढ्दै

मौसममा आएको परिवर्तनसंगै जिल्ला अस्पातल बैतडीमा बिरामीको संख्या बढ्दै

बैतडी । मौसममा आएको परिवर्तनसंगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढ्दै गएको छ । श्वासप्रश्वास सम्बन्धि बिरामीको संख्या केही दिन यतादेखि बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । दम, रुघाखोकी, न्यूमोनिया लगायतका बिरामीको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

चिसोको मौसम शुरु भएकाले श्वासप्रश्वासका बिरामीको संख्या बढ्दै गएका उहाँले बताउनुभयो । यस्तै चिसो मौसम शुरु भएसंगै बालबालिकामा न्यूमोनिया,बृद्धवृद्धाहरुमा दमको समस्या देखिएको डा. जोशीले बताउनुभयो । यो समयमा चिसोबाट बालबालिकाहरुलाई बचाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । बालबालिकाहरुलाई न्यानो लुगा लगाउने, तातो झोलिलो खानेकुरा खान दिने र न्यानो पारीराख्नकाले न्यूमोनिया तथा रुघाखोकीको संक्रमणबाट बच्न सकिन्छ ।

चिसोको समयमा कोरोना भाईरसको जोखिम पनि बढ्ने भएकाले चिसोबाट बच्नु उपयुक्त हुने डा। जोशीको भनाई छ । यस्तै दमका रोगीहरुले पनि यो समयमा चिसोबाट बच्नुपर्ने उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा अहिले दैनिक एकसयको हाराहारीमा बिरामीहरु आउने र ती मध्ये धेरैजसो श्वासप्रश्वास सम्बन्धि रोगका बिरामीहरु भएको डा. जोशीले बताउनुभयो । यस्तै जिल्लाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली, हाट स्वास्थ्यचौकी लगायतका स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।