सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। पर्सा र रूपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-२७ मा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो।
 
मृत्यु हुनेमा ट्याक्टर चालक पर्साकै बहुदरमाई नगरपालिका-३ का उमेशप्रसाद यादवका १२ वर्षीय छोरा विवेककुमार रहेका छन्।
 
दिउँसो ३ बजे लु ३ त ६४६ नम्बरको ट्याक्टर नहरको पुलबाट पल्टिँदा इन्जिनको भागमा च्यापिएर बालकको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ मा स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय शिवप्रसाद पौडेल रहेका छन्।
 
पौडेलले सिक्दै गरेको लु ६१ प २१८५ नम्बरको स्कुटर आज अचानक पल्टिँदा गम्भीर घाइते भएका थिए। घाइते पौडेलको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।