डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा समस्या

डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा समस्या

बैतडी । बैतडीका नगरपालिकामा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती भएको छ ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले स्थापनाकालदेखि नै फोहर व्यवस्थापनका लागि डम्पिङ साइड बनाउन सकेको छैन् ।

राज्य पुनर्संरचना पछि नगरपालिकाको क्षेत्र विस्तार हुँदा फोहर व्यवस्थापनामा झन् समस्या देखिएको छ । अहिले सदरमुकाम नजिकै सडक छेउमै फोहर राख्ने गरिएको नगरपालिकाका विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भन्दै जमिन खरीद गरेको भएपनि स्थानीयको अवरोधका कारण डम्पिङ साइड निर्माण गर्न नसकेको उनले बताए । उनले भने ‘नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न जमिन समेत खरिद गरिसकेको छ । तर स्थानीयहरुको विरोधका कारण डम्पिङ साइड निर्माण गर्न सकिएको छैन् ।’

छेला दुर्गाभवानी सडक छेउमा नगरपालिकाले डम्पिङ साइडका लागि जमिन खरिद गरेको छ । तर स्थानीयहरुले सो ठाउँमा डम्पिङ साइड बनाउन नदिएपछि अहिले नगरपालिकाले सदरमुकामा सडक नजिकै फोहर व्यवस्थापन गरिरहेको छ ।

सडक छेउमा नगरपालिकाको फोहर थुपार्दा समस्या भएको स्थानीयले बताए। नगरपालिका स्थापनाकालदेखि नै फोहर व्यवस्थापनमा चुकेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए। उनले भने, ‘नगरपालिकाले समयमै फोहर व्यवस्थापनमा ध्यान नदिँदा समस्या भएको छ । सबै प्रकारका फोहर एकै ठाउँमा राख्दा झन जोखिम बढाएको छ ।'
दशरथचन्द नगरपालिकाले २०५४ सालयता अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान नहुँदा बेलाबेलामा फोहर व्यवस्थापनमा समस्या आउने गरेको छ ।

यस्तै जिल्लाको पाटन नगरपालिकासँग पनि डम्पिङ साइडको अभाव रहेको छ । नगरपालिकाले पछिल्लो समयमा पाटन बजार नजिककैको घाङल खोलामा फोहर फाल्ने गरेको छ । बजारबाट निस्केको फोहर खोलामा फाल्ने गरिएको हो । यो फोहर सिधै सुर्नया नदीमा मिसिने गरेको छ ।

पाटनमा नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेपनि अहिलेसम्म डम्पिङ साइड निर्माण गर्न सकेको छैन् । नगरपालिकाले अहिले घाङल खोलामा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले बताए ।

जिल्लाको नयाँ नगरपालिकाका रुपमा रहेका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइडको अभाव छ । मेलौलीको काँडा बजारको फोहर, बजार व्यवस्थापन समितिलै नै गर्दै आएको छ । नगरपालिकाले तत्काल डम्पिङ साइडका लागि केही निर्णय नगरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले बताए ।

उनले भने, 'अबको कार्यपालिका बैठकमा यो विषयमा केही कुराकानी होला । अहिलेसम्म त्यस्तो केही निर्णय भएको छैन् ।'जिल्लाको पुरचौंडी नगरपालिकाले पनि अहिले सम्म अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । प्रत्येक पसलहरुमा डस्टबीन व्यवस्था गरेर फोहर व्यवस्थापन गरिरहेको उपप्रमुख जानकी बमले बताइन् । उनले भनिन्, ‘अहिले हामीले डम्पिङ साइड निर्माणका लागि जमिनको खोजी कार्य गरिसकेको छ । '

घर तथा बजारबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नु उचित हुन्छ । फोहर व्यवस्थापन गर्न सकिएन भने यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ,'स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, 'फोहर व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । नगरपालिका मात्रै नभएर यसमा नगरबासीहरुको पनि ध्यान जानुपर्छ ।’

फोहर व्यवस्थापन नभएकै कारण विभिन्न खालका सरुवा रोगहरु संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने,'अहिलेको महामारीको यो समयमा फोहर व्यवस्थापन झनै महत्वपूर्ण कुरा छ ।'