सीमा सुरक्षाका लागि भारत र चीनतर्फ धमाधम बीओपी स्थापना गरीदै

सीमा सुरक्षाका लागि भारत र चीनतर्फ धमाधम बीओपी स्थापना गरीदै

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीका स्थायी बोर्डर आउट पोस्ट (बीओपी) प्रथम चरणमा २ सय २१ पु¥याउने गरी धमाधम काम अघि बढाएको छ ।

सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको संख्या ५ सय स्थानमा स्थापना गर्ने सरकारको लक्ष्य रहेकामा तत्कालका लागि २२१ पु(याउने गरी काम सुरु गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाले यसअघि १०७ स्थायी बीओपी रहेकामा पहिलो चरणमा ११४ थप गरी २२१ पु¥याउने लक्ष्य अघि सारेका हुन् । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले आइतबार मात्रै पर्साको ठोरीस्थित ब्रम्हनगर, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र छिपहरमाई गाउँपालिकाको सम्भौतामा बीओपी स्थापना भएको बताए । यो संख्यासँगै सीमा क्षेत्रमा नेपालतर्फ बीओपीको संख्या १ सय ८६ पुगेको छ ।

– प्रथम चरणमा २२१ को लक्ष्य
– ५ सय पु(याइने तयारी

दार्चुलाको छांगरु, हुम्लाको हिल्सा, ओलाङचुङगोला, तातोपानी, रसुवा, लेचुङ, किमाथांका र दोलखाको गौरीशंकर क्षेत्रमा समेत बीओपी स्थापना भइसकेको छ । यस्तै, यसै आर्थिक वर्षका लागि ६९ वटा बोर्डर आउट पोस्टको भौतिक संरचना निर्माण गर्न समेत बजेट विनियोजन गरेको छ । संरचना नभएका स्थानमा तत्कालका लागि भन्सार तथा खाली रहेका सरकारी कार्यालयमा व्यवस्थापनको काम स्थानीय सरकारको समन्वयमा गरिँदै आइएको छ ।

सरकारले कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि भन्दै भारतीय सीमा क्षेत्रमा हाल १२ सय १३ वटा सशस्त्र प्रहरीका अस्थायी चेक पोस्टसमेत राखेको छ । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सीमा क्षेत्रमा पठाइसकेको छ भने भन्सार, उद्योगसहितका क्षेत्रमा खटिएकालाई समेत सीमामा पठाउँदै आइरहेको छ ।

गृह मन्त्रालयले कार्यविधिविपरीत पूर्वविशिष्टको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको र सुरक्षातर्फ अपुग भएपछि फिर्ता गर्ने गरी निर्णय गर्दै मन्त्रिपरिषद्मा कार्यविधि लगेको थियो । त्यसपछि गत ८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्टको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री थापाले सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि २ वैशाखको मन्त्रिपरिषद् बैठकमा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । ८ वैशाखको बैठकले भने कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय लिएको थियो ।

‘पहिले २५ देखि ५० किलोमिटरको दुरीमा बीओपी थिए, अहिले आधा दुरी कम रहने गरी बीओपी थप भइसकेका छन् । अब नयाँ बीओपी स्थापना हुँदा ३ देखि ५ किलोमिटरको दुरीमा रहनेछ,’ गृह मन्त्रीका राजनीतिक सल्लाहकार सूर्य पथिकले भने ।

हाल नेपालतर्फको सीमा नाकामा भारततर्फका ५ सय ३० बीओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीले बीओपीको संख्या बढाउँदा त्यही अनुपातमा जनशक्ति परिचालन गर्न ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गृहमन्त्रीसमक्ष गर्दै आएको छ ।

प्रत्येक स्थायी बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटिएका छन् । तर, बीओपीको संख्या बढेर ५ सय पुग्दा एक बीओपीबाट अर्को बीओपीको दुरी करिब साढे तीन किलोमिटर हुने सशस्त्र प्रहरीको अनुमान छ ।

गृह मन्त्रालयको नेतृत्वमा थापा आउनुअघि सीमा क्षेत्रमा ८७ वटा स्थायी बीओपी सञ्चालित थिए । थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो संख्या बढाएर १ सय ५३ पु(याएका थिए ।

नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा जोडिएको छ । हालसम्म सबै स्थायी बीओपीमा गरी सशस्त्र प्रहरीका करिब ५ हजार जनशक्ति सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ छ । -राजधानी डेलीमा खबर छ ।