काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै हुनहुन्छ । बिहान १० बजे प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा सहित सुरक्षा निकायका प्रमुख र केही उच्च सरकारी अधिकारी सहित संखुवासभा जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण गर्ने कार्यक्रम रहेकाे छ । यसैगरी प्रधानमन्त्री ओलीले भोटखोला ३ मा पर्ने च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने र स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
यसै गरी प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थलको निरीक्षण कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जीवनआचार्यले जानकारी दिनुभयो ।
आयोजनाको ड्याम मकालु गाउँपालिका–५ को फ्याक्सिन्दामा निर्माण भैरहेको छ । तीन क्षेत्रको स्थलगत अवलोकन पछि प्रधानमन्त्री मध्यान्ह काठमाडौं फर्कने कार्यक्रम रहेको छ । दोश्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली पहिलो पटक जिल्ला भ्रमणमा जान लाग्नु भएको हो ।