बैतडीको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

बैतडीको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। 

मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो। विसं २०८० असार २० गतेसम्म कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम शुरु भएको कार्यालय प्रमुख जोशीले बताए।

तल्लोसोराड जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुसी भएका छन्। लामो समयपछि तल्लोसोराड क्षेत्रमा सडक स्तरोन्नतिको काम शुरु भएपछि खुसी भएको स्थानीय केशवसिंह भाटले बताए। उनले भने, “तल्लोसोराड क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य धमाधम शुरु भएको छ। यसले हामीलाई धेरै खुसी लागेको छ।”

पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि नै जारी छ। अहिले सलेनासम्म सो खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले जानकारी दिए। दिवा चन्द्रा एण्ड वसन्ता जेभीले सो खण्डमा कालोपत्रे गरिरहेको छ।

सङ्घीय सरकार मातहत रहेको सो सडक सङ्घीय संरचनापछि प्रदेश सरकार मातहत रहेको छ। कोरोना भाइरसका कारण सडक कालोपत्रे गर्न केही ढिलाइ भए पनि निर्माण कार्य भइरहेको जोशीले बताए।