भारतीय व्यापारीहरुद्वारा सिमापुल खुला गर्न माग

भारतीय व्यापारीहरुद्वारा सिमापुल खुला गर्न माग

दार्चुला: भारतको उत्तराखण्ड स्थित पिथौरागढ जिल्लाको धारचुलाका ब्यापारीहरुले सिमा पुल खुला गर्न माग गरेका छन् । बिगत ८ महिनादेखी सिमा पुल बन्द हुदा  आफूहरुको व्यापार शून्य भएको भन्दै व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका हुन् ।

नेपाल- भारत जोड्ने खलंगा झोलुङ्गे पुल गत चैत्र ११ गतेदेखी बन्द रहेको छ । धारचुलाको व्यापार नेपालीहरुमा निर्भर रहेकाले पुल बन्द हुदा व्यापार व्यसाय नराम्ररी प्रभावित भएको छ । अहिले सो पुल कुनै आपतकालीन प्रयोजनको लागि केही समयमात्रै खुल्ने गरेको छ । आपतकालीनका लागि मात्र खोलिने तथा व्यापारका लागि बन्द गरिएको भन्दै अहिले उनीहरुको सिमा पुलमा धर्ना दिन थालेका छन् । हिजो अस्ति  उनीहरुले तिहारको समयमा तीन दिन लगातार पुल खोल्न माग गर्दै सिमामा धर्ना दिएका थिए । दार्चुला-धारचुला जोड्ने झोलुङ्गे पुल नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा दुबै देशका नागरिकको प्रवेशको लागि खुला गरिदै आएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।