'नेकपा अर्गानिक पार्टी हो': योगेश भट्टराई

'नेकपा अर्गानिक पार्टी हो': योगेश भट्टराई

नेकपाका स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेकपा ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने’ पार्टी नभएको दावी गरेका छन् ।

विहीबार बिहान सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै उनले उक्त दावी गरेका हुन् । ‘घरेलु (नेपाली) बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा,’ उनले लेखेका छन्, ‘यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन ।’

चिनियाँ राजदूतले केपी ओलीलाई सत्ता छाडेर पनि पार्टी एकता जोगाउन भनेको खबर बाहिरिएको बेला नेता भट्टराईले यस्तो जिकिर गरेका हुन् । ‘नेकपा जैविक र नेपाली बिशेषताको मौलिक पार्टी हो । यसको विकास वा विनाश यसैभित्र अन्तरनिहित छ,’ उनले भनेका छन् ।

चीनले बल गर्दा जुट्ने र भारतले चाहँना नफुट्ने नेकपाको विशेषता रहेको उनले बताएका छन् । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधि हो,’ भट्टराईले भने ।

उनले नेकपा बाहेक अन्य दलमा यो लागू हुन सक्ने भन्दै हास्यास्पद तर्क गरेका छन् । ‘अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभङ्ग गरी एकताको इतिहास निर्माणको परिणाम हो,’ उनले भनेका छन् ।

उनले पार्टी कठिन घडीमा रहेको भन्दै पेट्रोल छर्कनेभन्दा पानीले निभाउने काम गर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । ‘यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन्,’ उनले भनेका छन्, ‘यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी राख्ने कि पेट्रोल ? पेट्रोलले ऊर्जा, पानीले ऊर्जा र जीवन । नेपालमा पानीका मुहान सुकेका छैनन् !’

 योगेश भट्टराई को स्टाटस जस्ताको तेस्तै: