अमेरिकी राष्ट्रपतिको अकाउन्ट फेसबुक र ट्‌विटरले बाइडेनलाई हस्तान्तरण गर्ने

अमेरिकी राष्ट्रपतिको अकाउन्ट फेसबुक र ट्‌विटरले बाइडेनलाई हस्तान्तरण गर्ने

वासिङ्टन । सामाजिक सन्जाल ट्‌विटर र फेसबुक दुवैले अमेरिकी राष्ट्रपतिको अकाउन्ट आगामी जनवरी २० देखि नै जो बाइडेनको प्रशासनलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । दुवै प्लेटफर्ममा @POTUS अकाउन्ट अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो ।

सो अकाउन्ट ट्‌विटर र फेसबुकमा भएको डोनाल्ड ट्रम्पको व्यक्तिगत अकाउन्टभन्दा फरक हो । तर ट्रम्पले चाहिँ प्राय: जस्तो व्यक्तिगत अकाउन्टबाटै पोस्ट गर्ने गरेका छन् । कम्पनीले सञ्‍चार एजेन्सी रोयटर्ससँग भनेको छ, “ट्‌विटरले सक्रिय भएर ह्‌वाइट हाउसको संस्थागत अकाउन्ट सुम्पिने तयारी गरिरहेको छ जसरी हामीले २०१७ मा गरेका थियौँ ।”

रिपोर्टअनुसार @POTUS अकाउन्ट हस्तान्तरण गर्दा यसमा बाहिरिने ट्रम्पको टोली र भित्रिने बाइडेन टिमबीच कुनै जानकारी आदानप्रदान हुन आवश्यक पर्ने छैन । यही विषयमा ट्‌विटरले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका बाइडेन र ह्‌यारिससँग पनि छलफल गर्ने बताएको छ ।

डेमोक्रेट पार्टीका उमेदवार बाइडेन राष्ट्रपति निर्वाचित भएकाले अब जनवरी २० का दिनदेखि कार्यभार सम्हाल्नेछन् तर अर्कोतर्फ ट्रम्पले अझै हार स्वीकार गरिसकेका छैनन् । उनले बिनाकुनै प्रमाण डेमोक्रेट्सहरुले चुनावमा धाँधली गरेको आरोप लगाइरहेका छन् । आफ्नो आधारहीन दाबीसम्बन्धी ट्रम्पले विभिन्‍न कानुनी मुद्दा पनि चलाएका हुन् तर हालसम्म कतै सफलता पाएका छैनन् । -रोयटर्स