भर्चुअल पढाईले मोबाइल बजारलाई फलिफाप, चार महिनामै १४ अर्ब मोबाइल भित्रियो

भर्चुअल पढाईले मोबाइल बजारलाई फलिफाप, चार महिनामै १४ अर्ब मोबाइल भित्रियो

 कोरोना संक्रमणका कारण भर्चुअल पढाईको प्रवृत्ति बढेसँगै मोबाइलको माग अधिक छ । मोबाइल पसल सामान्य दिनमा जस्तै व्यस्त छन् ।

लामो समयसम्म मोबाइल स्टकमा राख्नुपर्ने बाध्यता व्यवसायीलाई छैन । माग बढ्दा मोबाइल खरिदमा पहिलेजस्तो कुनै किसिमको छुट खरिदकर्ताले पाउने अवस्था छैन ।

मोबाइलको माग बढेको तथ्यलाई आयातले पनि पुष्टि गर्छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्ष २०७७र७८ को पहिलो चौमासिक अर्थात कात्तिकसम्म १४ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भएको छ ।

यो अवधिमा मात्रै नेपालले २१ लख ९० हजार थान मोबाइल भित्र्याएको छ । मोबाइल आयातबापत सरकारले दुई अर्ब २४ करोड रुपैयाँ राजस्व पनि प्राप्त गरेको छ । नेपालले धेरै आयात गर्ने बस्तुको सूचीमा डिजेलपछि मोबाइल दोस्रो स्थानमा छ ।

भर्चुअल गतिविधिको फाईदा मोबाइल व्यापारलाई मात्र भएको छैन, यसले ल्यापटपको माग पनि बढाएको छ । विभागको तथ्यांक अनुसार कात्तिकसम्म दुई अर्ब ८ करोड रुपैयाँ बराबरको ३७ हजार ६०८ थान ल्यापटप आयात भएको छ ।