कोरोना कहरबीच परिक्षा दिन पाउँदा विद्यार्थी हर्षित, उत्साहजनक सहभागिता

कोरोना कहरबीच परिक्षा दिन पाउँदा विद्यार्थी हर्षित, उत्साहजनक सहभागिता

धनगढी । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै मंगलबारबाट सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सञ्चालन गरेको हो । सोही अनुरुप कैलालीमा पनि आजबाट कक्षा १२ को परिक्षा सुरु भएको छ । करिब ८ महिनापछि क्याम्पस तथा विद्यालयमै पुगेर परिक्षा दिन पाउँदा विद्यार्थीहरु हर्षित भएका छन ।

कोरोना कहर कै विच भएपनि क्याम्पसमा आएर परिक्षा दिन पाउँदा आफुलाई खुशी लागेको कैलाली बहुमुखी क्याम्पसमा परिक्षा दिएकी गायत्री जोशीले बताईन् । परीक्षा केन्द्रहरुमा सेनिटाइजर र हात धुनका लागि साबुन पानीको समेत व्यवस्था राम्रो रहेको उनले बताईन् ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउने र सबैको ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गर्ने व्यवस्था धनगढीका सबै विद्यालयमा गरिएको छ । सरकारले लागु गरेको सम्पुर्ण नियमहरुको पालना गर्दै परिक्षा दिएको परीक्षार्थीहरुले प्रतिक्रिया दिएका छन ।

यस्तै अर्का परीक्षार्थी सन्तोष ओझाले सुरुमा आफुलाई डर लागेको भएपनि परिक्षा राम्रो भएको बताउनु भएको छ । यस्तै त्रिनगर माध्यमिक विद्यालयमा परिक्षा दिएका नविन साउँदले पनि कोरोना कहरकै विच परिक्षा दिन पाउँदा खुशी लागेको बताए ।

उनले आफुले सोचे भन्दा पनि बढी सुरक्षा सावधानीका साथ परिक्षा सञ्चालन गरिएको जानकारी दिए ।  स्वास्थ्य मापदण्डका नियमहरु पालना गरेर भौतिक दुरी मै परिक्षा सञ्चालन गरिएको विद्यालय तथा क्याम्पसहरुले जनाएका छन । यस्तै त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले पहिलो दिनको परिक्षा समग्रमा शान्तिपूर्ण, मर्यादित र उत्साजनक रुपमा सम्पन्न भएको बताए ।

उनले गेटमा विद्यार्थीहरुको थर्मल गनले ज्वरो नाप्ने देखि लिएर सामाजिक दूरीका साथै सम्पूर्ण सुरक्षाका मापदण्डको पालना गरेर परिक्षा सुरु भएको जानकारी दिए । आफुहरुले सोचेभन्दा बढी विद्यार्थीहरुको उत्साजनक सहभागिता  रहेको प्रधानाध्यापक खड्काले बताए । आज परिक्षाको पहिलो दिन भएकाले कतैकतै केही मिनेट ढिलो सुरु भएको थियो ।

तर समग्रमा परीक्षा शान्तिपूर्ण र सहजरुपमा नै भएको क्याम्पस प्रमुखहरुले जनाएका छन । बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा तोकिएको थियो । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ । आज देखि सुरु भएको परिक्षा मंसिर १६ गते सकिने छ ।