त्रिशूली नदीमा खसेको जिप फेला, बेपत्ता ३ जनामध्ये महिलाको शव निकालियो

त्रिशूली नदीमा खसेको जिप फेला, बेपत्ता ३ जनामध्ये महिलाको शव निकालियो

आज (बिहीबार) बिहान मुग्लिननजिक त्रिशूली नदीमा खसेको जिप फेला परेको छ।

त्यहाँबाट शव निकाल्ने क्रम जारी रहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले जानकारी दिए। 

घटनास्थलमा रहेका उनले भने, ‘भर्खरै एक महिलाको शव निकालिएको छ, अन्यको निकाल्ने काम जारी छ। म घटनास्थलमै रहेकाले थप कुरा गर्न अहिले सक्दिनँ।’

प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका थिए।

तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोकाको शव निकालिएको हो। अब गाडीका चालक सूर्य केसी र ती महिलाकी ११ वर्षीया छोरी निकाल्न बाँकी छ। 

जिप पानीमुनि भेटिएको एसपी गुरुङले बताए। ‘जिप त अहिले निकाल्ने कुरा हुँदैन, शव निकालिरहेका छौं,’ उनले भने।