नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कंचनपुर । नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा रक्तदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। रक्तदान जीवन दान भन्ने मुल नारालाई आत्मसात गर्दै केन्द्रीय खेलकुद विभागले देशैभर सप्ताहव्यापी रक्तदान कार्यक्रम अनुरुप कंचनपुरमा पनि आयोजना गरिएको हो ।
विश्वव्यापी कोरोना महामारीका समयमा देशभर रगतको अभाव भइ नागरिकहरुले अकालमै मर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै  तारा सिंह भाटको संयोजकत्वमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका सह-संयोजक ज्ञानेन्द्र सिंहले बताए । उनले  भने; "अनेकौ दुर्घटनामा परि रगत अभावका कारण नागरिकहरुले ज्यान गुमाउनु पर्ने   अवस्था सिर्जना भएपछि अधिराज्य भरी  सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेका हौ।"
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो भने नेपाली काङ्ग्रेस कंचनपुरको समेत समन्वय रहेको थियो ।
रक्तदान कार्यक्रममा धेरै जसोको सहभागिता रहेपनी केहीको स्वास्थ्य अवस्थाका कारण रगत दिन नमिल्ने भएपछी २५ जनाले रगत दिएका हुन ।
साथै रक्तदान कार्यक्रम सकिएपछि खेलकुद विभागले  महाकाली अस्पतालमा बिरामीहरुका लागि ९ पेटि फ्रुटी,२ पेटि स्याउ,४ पेटि पानी र १० दर्जन केरा समेत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण जोशी 'बोक्सर' र अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट हरि कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
 सह-संयोजक सिंहले रक्तदान कार्यक्रममा सहभागी भएका र उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै  हार्दिक आभार  व्यक्त गरेका थिए ।