सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका दार्चुलाका २० जनाको नाम सार्वजनिक

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका दार्चुलाका २० जनाको नाम सार्वजनिक

दार्चुला । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दार्चुलाका २० जनाको नाम सार्वजनिक गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले शुक्रवार दार्चुला सदरमुकाम खलंगामा सरोकारवालाहरुसंगको अन्तत्र्रिmया कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरिएको जानकारी गराएको हो ।

आयोगका अनुसार बेपत्ता पारिएका दार्चुलाको महाकाली नगरपालिकाका हर्के लोहार र भिमसेन नगारी, शैल्यशिखर नगरपालिकाका गणेश लुहार, नरेन्द्र्र सिंह भण्डारी, बहादुर डाँगा, रामदत्त भट्ट र विर्ष सिंह धामी रहेका छन् । यस्तै मालिकार्जुन गाउँपालिकाका गणेश सिंह धामी, तारा चन्द, भवान सिंह धामी, मनिराम लोहार र शेर सिंह धामी, लेकम गाउँपालिकाका रमेश बहादुर पाल, केशव राम जोशी र तर्क बहादुर पाल रहेको जनाइएको छ ।

यस्तै मार्मा गाउँपालिकाका लोकेन्द्र सिंह विष्ट, व्याँस गाउँपालिकाका गोविन्द राम लोहार, नौगाड गाउँपालिकाका प्रेम सिंह ठगुन्ना र बिक्रम सिंह ठगुन्ना तथा दुहुँ गाउँपालिकाका डम्बर बहादुर बम बेपत्ता पारिएको सूचीमा रहेको जनाइएको छ । उजुरी निवेदनको आधारमा दार्चुलाका २० जनाको नाम सार्वजनिक गरिएको आयोगका अध्यक्ष युवराज सुवेदीले बताए ।

आयोगले बेपत्ता पारिएका पीडित परिवारजनको पहिचान, छानविन गरि परिचय पत्र वितरण गर्ने जनाएको छ । राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै देशभर २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

आयोगले अढाइ हजार उजुरी निवेदनमाथि छानविन र बयानको काम गर्ने जनाएको छ । त्यसक्रममा परिपुरण फाराम भराउने काम अघि बढाउने तथा माघसम्म सरकारलाई प्रतिवेदन बुझाउने आयोगको तयारी छ । आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।