रुस नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक

रुस नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक

रुसले जीटुजी (सरकार–सरकारबीचको सम्झौता) मार्फत् नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मंगलबार भएको भेटवार्तामा रुसले सो इच्छा देखाएको हो ।

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग भेट गर्दै जलविद्युत्मा लगानी गर्न सकिने उल्लेख गर्दै रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिएका थिए ।

रुसीे टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे चासो राखेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताएका छन् ।

त्यस क्रममा मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिँदै बढी भएको विद्युत् निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको बताउनुभयो ।

आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत् सिधै बाहिरी बजारमा पठाउन सक्ने गरी लचिलो कानुनी प्रावधानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उहाँको भनाइ थियो ।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युत्मा लगानी गर्नसक्ने जानकारी दिनुभएको छ । भारत र बंगलादेशमा पर्याप्त माग रहेकाले विद्युत बजारको अभाव नरहेको उल्लेख गर्दै भारतीय ग्रिड प्रयोग गरेर बंगलादेश विद्युत् निर्यात गर्ने गरी भारतसँग सैद्धान्तिक सहमति भइसकेकाले रुसी प्रतिनिधिमण्डलाई जानकारी दिनुभयो ।

नेपाल–भारत ‘पावर एक्सचेन्ज’ सम्झौताअनुसार हाल दुवै देशले आवश्यकताअनुसार विद्युत् आयात निर्यात गरिरहेको भन्दै गत वर्ष मात्र नेपालले वर्षायाममा ३५ करोड रुपियाँको विद्युुत् भारतलाई बिक्री गरेको मन्त्री पुनले बताउनुभयो । नेपालकै तेस्रो पुरानो २ दशमलव ४ मेगावाटको काभ्रेस्थित खोपासी जलविद्युत् केन्द्र रुस सरकारको सहयोगमा निर्माण भएको र उक्त आयोजनाबाट हालसम्म पनि विद्युत् उत्पादन भइरहेको जानकारी दिँदै मन्त्री पुनले नेपाल र रुसबीचको कुटनीतिक सम्बन्धका बारेमा पनि जानकारी गराउनुभएको थियो ।