विप्लव समूहद्वारा शिक्षकको बीभत्स हत्या पछि मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना

विप्लव समूहद्वारा शिक्षकको बीभत्स हत्या पछि मिक्लाजुङमा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएको छ । मिक्लाजुङ १ रमितेखोलामा बेस क्याम्प स्थापना भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

विप्लव समूहले मिक्लाजुङमा एकजना शिक्षकको हत्या गरेपछि स्थानीयले सुरक्षा माग्दै बेस क्याम्प राख्न‌ आग्रह गरेका थिए । आइतबार ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरीको संयुक्त टोली मिक्लाजुङ पुगिसकेको छ । सुरक्षाकर्मी गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाले संयुक्त लगानीमा निर्माण गरेको भवनमा बस्ने बताइएको छ ।

विप्लव समूहले मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई गत मंगलबार अपहरण गरी घाँटी रेटेर हत्या गरेका थिए । मोरङको दुर्गम पहाडी क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा विप्लव समूहले गतिविधि बढाएको थियो । -बाह्रखरी मा खबर छ ।