पोस्टपेड प्रयोगकर्ताले मासिक ३८३ खर्चनैपर्ने, न्युनतम शुल्कबाटै प्याकेज खरिद गर्न पाइने

पोस्टपेड प्रयोगकर्ताले मासिक ३८३ खर्चनैपर्ने, न्युनतम शुल्कबाटै प्याकेज खरिद गर्न पाइने

नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताले रेन्टल शुल्कका रुपमा न्युनतम रु.३८३ खर्च गर्नै पर्छ। टेलिकमको पोस्टपेडका ग्राहक यही शुल्कको विलिङ नबुझेर अन्यौल परेकोले रेन्टल शुल्कबाटै प्याकेज खरिद गर्न पाइने गरी ‘पोस्टपेड प्याक’ उपलब्ध गराएको छ।

नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताले मासिक न्युमतम रु.३८३.७ रेन्टल शुल्कबाट अनिवार्य खर्च गर्नैपर्ने व्यवस्था छ। यही शुल्कबाट टेलिकमले उपलब्ध गराउने विभिन्न प्योकज लिन सकिने व्यवस्था टेलिकमले गरेको छ।

टेलिकमका अनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम रु.३८३.०७ रेण्टल शुल्क अनिवार्य रुपमा तिर्नुपर्दछ। यसको अर्थ ग्राहकले योभन्दा थोरै रकमको सुविधा प्रयोग गरे पनि रेण्टलवापत रु.३८३.०७ तिर्नुपर्छ।

यो शुल्कमा प्योकज लिँदा रकम बढी काटिएको र ग्राहकले अनिवार्य खर्च गर्नुपर्ने शुल्क नबुझेका कारण गुनसो गरेको भन्दै टेलिकमले यो रकम खर्च र उपयोगबारे ग्राहकलाई सुचित गराएको छ। टेलिकमका अनुसार पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनील ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ।

पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना नहुने उल्लेख छ।। सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ।

पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिने जानकारी टेलिकमले दिएको छ।

कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो। यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनै पनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ। 

टेलिकमले महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गर्ने गरेको छ। यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु.३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ।

टेलिकमका अनुसार कुनै ग्राहकले महिनामा रु.१०० मात्र प्रयोग गरेको भए पनि रु.३८३.०७ नै काटिन्छ। त्यो बेला रु.२८३.०७ कता हरायो भन्दै गुनासो गर्ने गरेका छन्। यो गुनासो बिलिङ प्रणाली नबुझेर भएको टेलिकमले स्पष्ट पारेको छ। कम्पनीको जीएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिङ हुने भए पनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको टेलिकमले उल्लेख गरेको छ।

टेलिकमले उदाहरणको रुपमा भनेको छ, ‘कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु.२०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु.२०० र रेन्टल चार्ज वापतको रु.३८३.०७ गरी रु.५८३.०७ तिर्नुपर्छ। जस्तो १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु.४०० थियो भने सो रकम समेत काटिएर थप रु.१८३.०७ समेत तिर्नुपर्ने हुन्छ।’

पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400# डायल गर्नुपर्ने हुन्छ। सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट हो। अभाइलेबल क्रेडिट चाहिँ अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो।