ओझेलमा परे बझाङका फलाम खानी

ओझेलमा परे बझाङका फलाम खानी

बझाङ : जिल्लामा रहेका अधिकांश फलाम खानीहरू संरक्षण र सम्बर्द्धनको अभावमा यतिखेर ओझेलमा पर्दै गएका छन्।

तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको छ। सडक निर्माणको क्रममा डोजरले खन्दा ठूलो परिमाणमा फलामका टुक्राहरू यत्रतत्र छरिएका छन्।

सडक खन्ने क्रममा निस्किएका  फलामे ढुंगा ठूलो मात्रामा सेती नदीसमेत खसेको स्थानीयले बताएका छन्। चैनपुर ताक्लाकोट सडकमा पर्ने तेलकोट गाउँपालिका १ सेरागाउँदेखि धमेना कुवँरगाउँ सम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा फलाम जस्तै ढुंगा भेटिएका हुन्।

जताततै फलामै फलाम भेटिए पनि यसको बारेमा कसैले बास्ता नगरेका कारण सडक निमार्णको क्रममा ठूलो मात्रामा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताए।  साविकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको फलाम खानी बिहीबारभन्दा करिब ६५ वर्ष पहिला प्रयोगमा थियो।

खानीबाट कच्चा फलाम निकालेर यहाँका स्थानीय लुहार समुदायले प्रशाेधन गर्ने गर्दथे। त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्न खाले हतियार र घरायसी प्रयोगका लागि बनाइएका भाँडाकुँडा हालसम्म पनि स्थानीयले प्रयोग गर्ने गरेको पाइएको छ।

खानीबाट फलाम झिकेर आफै प्रशाेधन गरेका तल्कोट गाउँपालिका १ भाटगाउँका थोल्या कामीका अनुसार खानी प्रयोग गरे बाफत लुहार मुखियाले तत्कालिन बझाङ राज्यलाई तिर्नू पर्ने कर तिर्न नसके पछि खानी प्रयोगमा बन्देज लगाइएको थियो।